ट्रम्पको सत्तारोहणले सस्तिएला पेट्रोलियम ? « Arthapath.com
८ माघ २०८१, मंगलवार

ट्रम्पको सत्तारोहणले सस्तिएला पेट्रोलियम ?



काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा भएको सत्ता परिवर्तनका असरहरु संसारभरको अर्थ राजनीतिमा पर्ने निश्चित छ । त्यसमध्ये कयौँ देशले केही राम्रा र केही खराब नियतीहरु भोग्नुपर्ने हुन सक्छ ।

ट्रम्पले आफू सत्तामा आउना साथ पेरिस जलवायु सम्झौताबाट आफ्नो देशलाई पुनः एक पटक अलग गरेका छन् भने विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गरेका छन् । यी दुबै कुरा नेपालजस्तो गरिब देशका लागि ज्यादै घातक हुनसक्छ ।

तर उनले लिएको ऊर्जा नीतिको लाभ चाहीँ हामीलाई पनि हुनसक्ने ठानिएको छ । ट्रम्पले ‘नेशनल इनर्जी इमर्जेन्सि’ अर्थात् रष्ट्रिय ऊर्जा संकटकाल घोषणा गरेका छन् । तीन वर्षअघि रूस–युक्रेन युद्ध सुरु भएयता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा ब्यापक बढोत्तरी भएको छ ।

यही कारण बाँकी विश्वजस्तै अमेरिकामा पनि उच्च दरमा मुद्रास्फीति (औसत मूल्यबृद्धि) बढेको छ । महँगी बढ्दा आफ्ना नागरिकको जिविकोपार्जन लागत चुलिएको र उनकै शब्दमा ‘महान् अमेरिकी’हरु जीवन निर्वाह गर्नै कठीनाइ सामना गरिरहेका छन् ।

यही अवस्थाबाट बाहिर निस्कन आफ्नो मन्त्री परिषदका सबै सदस्यलाई महँगी तीव्र रफ्तारमा घटाउन सक्दो काम गनू भनेर निर्देशन दिएको उनले बताएका छन् । साथै तेल र ग्यासको उत्खननलाई तीव्र पार्ने प्रतिबद्धता पनि दोहोराएका छन् ।

उनले अमेरिका पुनः एक पल्ट ‘उत्पादक राष्ट्र’ बन्ने बताए । आफ्नो आवस्यकता परिपूर्तिका लागिमात्रै होइन, पेट्रोलियम पदार्थ उत्पादन गरेर निर्यात पनि बढाउने घोषणा उनले गरे । खजिन इन्धनको तीव्र उत्खनन गर्ने र त्यसबाट पैसा कमाउने उद्देश्य पेरिस सम्झौताको खिलाप हुन्थ्यो ।

उनले सम्झौता भित्र पनि बस्ने र त्यसको उल्लंघन पनि गर्ने काम चाहीँ गरेनन् । बरु आफ्नो पहिलो कार्यकालमा जस्तै उक्त सम्झौताबाट अमेरिकालाई बाहिर निकाले ।

उनले भने, ‘हामीसँग संसारकै सर्वाधिक तेल र प्राकृतिक ग्यास छ । हामी यसको पुरा उपयोग गर्ने छौँ ।’ उनले तीव्र उत्खननलाई बढावा दिन ‘ड्रील बेबी ड्रिल’को नारा दोहोराए । यसअघि चुनावी दौरान पनि उनले यो नारा खुब उठाएका थिए ।

खनिज इन्धनको उपयोग उत्पादन बढाएर इन्धनलाई सस्तो पार्ने र त्यसमार्फत् मूल्य नियन्त्रण गर्ने ट्रम्पको प्रयास देखिएको छ । वल्डएट्लासका अनुसार अमेरिका संसारमा ९ औँ ठूलो तेल भण्डार भएको देश हो । ऊसँग ५५ अर्बदेखि ६८ अर्ब ब्यारेल तेल भण्डार छ ।

तर प्राकृतिक ग्यासमा रूस, इरान र कतारपछि अमेरिका विश्वको चौँथो ठूलो भण्डार हो । ऊसँग भएको करीब ५२९ ट्रिलियन क्युबिक फीट प्राकृतिक ग्यासले करीब १०० वर्षको अमेरिकी मागलाई धान्ने अनुमान गरिएको छ ।

यसमा अर्को रोमाञ्चक कुरा के पनि छ भने, हालसम्म प्रमाणित भएमध्ये विश्वकै तेस्रो ठूलो तेल भण्डार बोकेको क्यानडालाई ट्रम्पले अमेरिकाको ५१ औँ राज्यका रुपमा ‘मर्ज’ गर्नुपर्ने बताउँदै आएका छन् । क्यानडासँग करीब १७१ अर्ब ब्यारेल तेल भण्डार रहेको बताइन्छ, जुन अमेरिकासँग भएभन्दा लगभग ३ गुणा धेरै हो ।

यद्यपि, कथम् कदाचित यी दुई देश ‘मर्ज’ भइहाले भने पनि त्यसबेला अमेरिका तेस्रो स्थानमै रहन्छ । किन की, भेनेजुयला (३०४ अर्ब ब्यारेल) र साउदी अरब (२६७ अर्ब ब्यारेल) असाध्यै धेरै तेल भण्डार बोकेर बसेका छन् ।

भण्डार जति ठूलो भए पनि यदी अमेरिकाले तेलको उत्पादन बढायो र त्यसको दबाब ओपेक भनिने पेट्रोलियम अदार्थ उत्पादक देशहरुको बजारमा पर्यो भने यसले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाउन मद्दत गर्ने छ ।

अहिले पनि विश्वको कुल तेल खपतमा २० प्रतिशत हाराहारी हिस्सा अमेरिकाको छ । उसले हरेक दिन करीब २ करोड ब्यारेल तेल खपत गर्छ, जसमध्ये ६० लाख ब्यारेल आयात गर्छ ।

तर ट्रम्पको उक्त नीतिको लाभ हाम्रा छिमेकीहरुले पनि पाउने छन् । अहिलेसम्म चीन संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता हो भने भारत तेस्रो नम्बरमा छ । अब छिट्टै नै भारत दोस्रो ठूलो आयातकर्ता बन्न सक्छ, जसले आफ्नो कुल खपतको ८० प्रतिशत तेल आयात गरिरहेको छ ।

नेपाल त पेट्रोलियम पदार्थका लागि यसै पनि पूर्णतः भारतमा निर्भर छँदै छ ।


प्रतिक्रिया दिनुहोस्