भन्सार शुल्क घटेसँगै सुन आयातमा नयाँ रेकर्ड, एकै महिना नेपाल भित्रियो ४२४ केजी सुन

काठमाडौं । पछिल्लो समय सुन आयातको आँकडा बढ्न थालेको छ । गत पुस महिनामा यो वर्षकै उच्च सुनका आयात भएको छ ।
भन्सार विभागका अनुसार पुस महिनामा ४२४ केजी सुन आयात भएको छ । पुसमा ४ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ बराबरको ४२४ केजी ७८३ ग्राम सुन नेपाल भित्रिएको हो ।
सरकारले सुनको भन्सार शुल्क घटाएसँगै सुन आयात ह्वात्तै बढेको देखिन्छ । गत मंसिर ६ गते सरकारले सुनको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । त्यसभन्दा अघि भने यस्तो शुल्क २० प्रतिशत रहेको थियो ।
भन्सार शुल्क घटेसँगै सुन आयात धमाधम बढी रहेको छ । घटाइएको भन्सार शुल्क लागू भएदेखि यता अर्थात् मंसिर र पुस महिनामा मात्रै ५ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबरको ५०४ केजी २३६ ग्राम सुन नेपाल भित्रिएका छन् ।
चालु आवको ६ महिनामा भने ८ अर्ब ५५ करोड ३६ लाख ४५ हजार रुपैयाँ बराबरको ७५० केजी ३१७ ग्राम काँचो सुन तथा गरगहना आयात भएका छन् ।
अहिले नेपाल औसतमा मासिक ८५ करोड ५३ लाख रुपैयाँ बराबरको १२५ केजी सुन आयात भएको देखिन्छ ।
विभागका अनुसार गत कात्तिकमा ६९ करोड ११ लाख रुपैयाँ बराबरको ७९ केजी ४५३ ग्राम सुन र गरहना आयात भएका थिए । यस्तै, असोजमा ३० करोड ८९ लाख रुपैयाँ बराबरको २७ केजी ५६९ ग्राम र भदौमा पनि २९ करोड २३ लाख रुपैयाँ बराबरको २७ केजी सुन आयात भएका थिए ।
चालु आवको पहिलो महिनामा भने १ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ बराबरको १३२ केजी ९९३ ग्राम सुन नेपाल भित्रिएको थियो । हाल नेपालमा वाणिज्य बैंकहरु मार्फत सुन आयात हुँदै आएको छ । बैंकहरुले दैनिक २० केजी सुन आयात गर्न पाउँछन् ।

हाल विश्वका दुई दर्जन बढी मुलुकबाट सुन आयात हुने गरेको छ । युनाईटेड अरब इमिरेट् (युएई), टर्की, कतार, मलेसिया, हङकङ, चीन, भारतबाट ठुलो मात्रामा काँचो सुन आयात हुने गरेको छ । यस बाहेक साउदी अरेबिया, थाइल्याण्ड, अमेरिका, कुबेत, बेञ्जियम, सिंगापुर, कोरिया, जापान लगायतका २ दर्जन बढी देशहरुबाट सुन तथा यसका गरगहना आयात हुँदै आएको छ ।
सुन आयातबाट सरकारले ६ महिनामा १ अर्ब १० करोड ९७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । पुसपछि सुन आयात झन् बढ्ने व्यवसायीहरु बताउँछन् । विशेषगरि लगनको महिना भएकाले पनि माघ थप आयात बढ्ने भएको हो । अहिले भन्सार शुल्क घटेसँगै तुलनात्मक रुपमा सुनको भाउ पनि सस्तिएको छ । अर्को तर्फ लगनको महिना सुरु भएको छ ।
माघ, फागुन पनि बिहे तथा अन्य विभिन्न सांस्कृति गतिविधि पनि बढी हुने गर्छ । यसले बजार माग बढाएसँगै आयात पनि बढ्ने गर्छ । अहिले बजारमा कारोबार पनि बढेको व्यापारहरु बताउँछन् ।