बहुचर्चित ३ प्रिमियम चिनियाँ ब्रान्ड एकै पटक नेपाल आउँदै,  नाइमा एक्स्पोमा धमाका मच्चाउने लक्ष्मी ग्रुपकाे तयारी « Arthapath.com
३२ असार २०८३, बिहिबार

बहुचर्चित ३ प्रिमियम चिनियाँ ब्रान्ड एकै पटक नेपाल आउँदै,  नाइमा एक्स्पोमा धमाका मच्चाउने लक्ष्मी ग्रुपकाे तयारी



काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो (नाइमा अटो शो) २०२६ मा नेपालको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी ग्रुप दमदार धमाका गर्ने भएकाे छ।

चार पाङ्ग्रे सवारी साधनको बजारमा आफ्नो बलियो साख बनाएको यस व्यावसायिक समूहले नेपाली अटोमोबाइल क्षेत्रमा आक्रामक रणनीति अपनाउँदै एकैपटक तीनवटा नयाँ प्रिमियम ब्रान्डहरू सार्वजनिक गर्ने तयारी गरेको हो।

ग्राहकहरूको बदलिँदो चाहना, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रिमियम गाडीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले यी गाडीहरू नेपाली सडकमा उतार्न लागेको हो।

विगत साढे तीन दशकदेखि हुन्डाई, बीएमडब्लू, एसएमएल इसुजु जस्ता स्थापित अन्तर्राष्ट्रिय ब्रान्डहरू सफलतापूर्वक बिक्री गर्दै आएको यस ग्रुपले हालैका वर्षहरूमा केई र फोरथिङ जस्ता चिनियाँ विद्युतीय सवारी साधनमार्फत बजारमा बलियो प्रभाव छाडेको छ।

नवलपरासीको रामग्राममा आफ्नै एसेम्बल प्लान्ट स्थापना गरी हुन्डाईका क्रेटा र भेन्यु जस्ता चर्चित मोडलहरू स्वदेशमै उत्पादन गरिरहेको यस समूहले साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपालमा गाडीका सौखिनहरूका लागि लक्जरी र प्रविधिको नयाँ स्वाद पस्कने निश्चित भएको छ।

बीएआइसी बीजे-३०ई: एड्भान्स हाइब्रिड प्रविधिको शक्तिशाली अफरोडर

चीनको सबैभन्दा जेठो र प्रतिष्ठित सरकारी स्वामित्वको अटोमोबाइल ग्रुप ‘बीएआइसी’ को यो एउटा भविष्यमुखी डिजाइन भएको एसयूभी हो।

नेपाल आउन लागेको बीजे-३०ई मोडल विशेषगरी बक्सी (चौकोस) र मस्कुलर लुक्स मन पराउने चालकहरूका लागि तयार पारिएको हो। यसको अग्लो बडी र फराकिलो स्टान्सले यसलाई सडकमा निकै आकर्षक र मजबुत देखाउँछ।

यसमा १.५ लिटरको शक्तिशाली टर्बो पेट्रोल इन्जिनका साथै आधुनिक इलेक्ट्रिक मोटर जडान गरिएको छ। अल ह्विल ड्राइभ (चारै पाङ्ग्रा चल्ने) यो गाडीमा १.६७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ।

यसमा इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट सिस्टम, अत्याधुनिक डिजिटल ककपिट र बहुउपयोगी ड्राइभिङ मोडहरू उपलब्ध छन्। स्ट्रङ हाइब्रिड प्रविधिका कारण यसले प्रतिलिटर इन्धनमा उत्कृष्ट माइलेज दिन्छ, जसले गर्दा लामो यात्रामा इन्धनको ठूलो बचत हुन्छ।

चिनियाँ बजारमा यो गाडीको सुरुवाती मूल्य करिब ९९ हजार ९ सयदेखि १ लाख ३६ हजार ९ सय युआन (झण्डै १९ लाखदेखि २६ लाख नेपाली रुपैयाँ बराबर) बाट सुरु हुन्छ। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएकै दिन कम्पनीले यसकाे मूल्य पनि रिभिल गर्नेछ ।

आर्कफक्स टी वान: लक्जरी र उच्च रेन्जको प्रिमियम विद्युतीय कार

बीएआइसी ग्रुपकै सर्वाधिक लक्जरी र प्रिमियम श्रेणीको इलेक्ट्रीक ब्रान्ड हो, आर्कफक्स । यस ब्रान्ड अन्तर्गतको ‘टी वान’ विद्युतीय ह्याचब्याक/क्रसओभरले नेपाली ईभी बजारमा लक्जरी र उच्च कार्यक्षमताको नयाँ मापदण्ड कायम गर्ने अनुमान गरिएको छ। युरोपेली प्रविधि र आधुनिक डिजाइनको समिश्रण रहेको यो गाडी निकै फ्युचररिस्टिक देखिन्छ।

यो गाडी मुख्यतया दुईवटा ब्याट्री प्याक अप्सनमा उपलब्ध छ। जसमा ४२.३ किलोवाट आवर र ५५.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री रहेका छन्।

७० किलोवाट र ९५ किलोवाटको मोटर विकल्पमा आउने यस गाडीले एक पटकको फुल चार्जमा क्रमशः ४२५ किलोमिटर र ५५० किलोमिटरसम्मको लामो रेन्ज (माइलेज) प्रदान गर्दछ। यसमा फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध छ।

प्यानोरामिक सनरुफ, ठूलो इन्फोटेनमेन्ट स्क्रिन, एआई भ्वाइस असिस्टेन्स र उच्च सुरक्षाका लागि एडास जस्ता प्रिमियम फिचर्स यसमा पाउन सकिन्छ।

चीनमा आरकफक्स टी–१ को मूल्य ६२ हजार ८ सयदेखि १ लाख २५ हजार ८ सय युआन (करिब १२ लाखदेखि २४ लाख नेपाली रुपैयाँ बराबर) सम्म रहेको छ।

जेटोर टी २: साहसिक यात्रा र क्याम्पिङका लागि सर्वोत्कृष्ट रोजाइ

चीनको अर्को सरकारी स्वामित्वको बहुराष्ट्रिय कम्पनी ‘चेरी अटोमोबाइल’ अन्तर्गतको प्रिमियम र प्रख्यात एसयूभी ब्रान्ड हो- जेटोर ।

कम्पनीले नेपालमा कुन मोडल ल्याउने भन्ने औपचारिक घोषणा गरेको छैन। तर विश्व बजारमा जेटोरका एक्स ५०, एक्स ७०, एक्स ९०, टी २ जस्ता मोलड उपलब्ध छन् । नेपालको भौगोलिक अवस्था र कठिन सडकलाइ हेरेर यसको निकै चर्चित मोडल ‘टी २’ भित्रिने प्रबल सम्भावना छ।

जेटोर टी-२ विशेषगरी लामो दूरीको यात्रा, पारिवारिक भ्रमण र साहसिक यात्रालाई लक्षित गरी विकास गरिएको सवारी हो। यसमा दुई लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन, चारै पाङ्ग्रामा शक्ति वितरण गर्ने प्रणाली तथा सात चरणीय स्वचालित गियरबक्स उपलब्ध छ। शक्तिशाली इन्जिन, फराकिलो भित्री भाग, ठूलो सामान राख्ने ठाउँ र आधुनिक सुरक्षा प्रणाली यसका प्रमुख विशेषता हुन्।

जेटोर टी २ मा क्वालकम स्न्यापड्रैगन ८१५५ इन्टेलिजेन्ट चिपसेट, थ्री-डी सराउन्ड भ्यु क्यामेरा, बहुआयामिक अफरोड मोडहरू र अत्यधिक बलियो च्यासिस प्रयोग गरिएको छ। यसको क्याबिन निकै फराकिलो र विलासी छ।

यसमा शक्तिशाली टर्बोचार्ज्ड इन्जिन र उन्नत एक्स-डब्लू-डी फोर-ह्विल ड्राइभ प्रविधि छ, जसले हिलो, बालुवा वा भिरालो बाटोमा सहजै गाडी नियन्त्रण गर्न मद्दत गर्छ।

बलियो र ठूलो एसयूभी भए तापनि यसको इन्जिन म्यानेजमेन्ट सिस्टमले इन्धन खपतलाई सन्तुलित राख्दै बलियो माइलेज प्रदान गर्छ।

चीनमा जेटोर टी-२ को मूल्य करिब १ लाख ७५ हजार ९ सयदेखि २ लाख ३९ हजार ९ सय युआन (झण्डै ३३ लाखदेखि ४५ लाख नेपाली रुपैयाँ बराबर) सम्म रहेको छ।


प्रतिक्रिया दिनुहोस्