प्रिय आनन्द !! तिम्रो बलिदान न मुर्दाको कथा बन्यो, न चिहानघारीको पर्यटन ? « Arthapath.com
२० भाद्र २०७७, शनिबार

प्रिय आनन्द !! तिम्रो बलिदान न मुर्दाको कथा बन्यो, न चिहानघारीको पर्यटन ?



जानुका धमला

तिम्रो सहादतको सम्मान कसले गर्ने, कसको नैतिक पुँजी र अधिकार होला र अहिले ? तिम्रो बलिदान केको निम्ति थियो ? तिमी केका विरुद्ध लड्यौँ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो विलासिता ! तिम्रो वीरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रूपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम्रो वास्तविक चिहानको सुन्दरताको वर्णन गर्न सके ।

प्रिय आनन्द सत्र वर्ष पूरा भएछ तिमीसँग भौतिक रूपमा बिछोडिएको । सत्र वर्षमा मेरो जीवनले भोगेको हन्डर हैरानीमा हिसाब गरेर साध्य नै छैन । कहाँबाट मात्रै सुरु गरुँ र ती दुःखका यादहरू । यो बसाइमा मेरो जीवनले भोगेको तिरस्कार, दुःखकष्टभन्दा पनि मैले तिम्रो मनको सुन्दर कुनाबाट जितेको संसार लेख्दै छु । अबोध तिम्रो मनको सुन्दर पोखरीमा अँधेरी रातको जुनजस्तो देखिने तिम्रो मनको प्रतिबिम्ब, तिम्रै मनको निश्चल पोखरीबाट देखिने मनको सुन्दर जुनलाई तिम्रै मनको किनारबाट सँगै बसेर हेर्ने सपना त पूरा भएन, तर पनि हारिनँ जीवनसँग र त तिमीसँगै हुँदा देखेका सपनाका धुमिल धर्सा अझै जीवित छन् । त्यही सपना छन् र त म जीवित छु र बाँचेको अनुभूति गर्छु ।

दोरम्बाको घटनापछि पूर्वी कमान्डको बैठक बसेर फौजी योजना तय भयो । त्यो घटनाको प्रतिरोध गर्न बेथान स्मृति ब्रिगेडको १४औँ बटालियनको स्पेसल फोर्सद्वारा सर्लाही जिल्लाको बर्दिबास र १५औँ बटालियनको स्पेसल फोर्सले लालबन्दीको प्रहरीचौकी कब्जा गर्ने योजना तय भयो । त्यही योजना सफल बनाउन क्रममा तिमी पहिलोपटक एसल्ट ग्रुपको कमान्ड गरेर जाँदै थियो । हामी फरक–फरक एसल्ट ग्रुपमा थियौँ जाने स्थान पनि फरक थियो । तिमी तिम्रो एसल्ट लिएर कार्तिके देराउरालीबाट मरिन खोला तरेर मोथे तोरीबारीतर्फ लाग्यो म त्यहीँबाट पाँच पाण्डप कौवाडाँडा हँुदै सर्लाही जिल्लाको डापडाँडा अन्तिम सेल्टरमा पुगेँ ।

अन्तिम सेल्टरमा पुग्दा ग्यास सिलिन्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग आफैँ पनि जीवित छ मसँग । मलाई खुब रहर थियो त्यो सिलिन्डरले बनाएको घाउको दाग तिमीलाई देखाउन । मेरो पनि मोर्चाबन्दी लडाइँको पहिलो अनुभव थियो । तिमीलाई मेरो सुनाउने कुराहरू सुनाउनै नपाई अपसोच तिमी मैले भोग्ने भौतिक, मानसिक पीडालाई कहिल्यै नसुन्ने नदेख्ने गरी अस्ताइसकेछां । त्यही रात अर्थात् २०६० भदौ १८ गते ।

तिमी भएको आर्कतिर ठूलो आवाज आयो बम पड्किएको । आफ्नो जिम्मेवारी त छँदै थियो । त्यो आवाजसँगै तिमीले पनि दुस्मनको बङ्कर ध्वस्त पारेर हतियार खोस्यौ होला भन्ने उत्सुकता मनमा लाग्यो मनमनै खुसी भएँ । कहिले कमान्डरको कासन आउला रिटिटको भनेर ।

रिटिट हुने कासन आयो बाटोमा पट्रोलिङमा गएको शाही सेनासँग जम्काभेट भयो । हाम्रो टोलीसँग दोहोरो फायरिङ चल्यो । हामीले केही थान इन्सासको म्यागजिन र गोलीहरू खोस्यौँ । उनीहरूसँग हाम्रो तर्फका एकजना स्थानीय कमरेड मनीष घाइते हुनुभएको रहेछ । उहाँलाई भोलिपल्ट बेलुका मात्रै हामीले डाप डाँडामा भे¥यौँ । उहाँको हातको पातामा दुईवटा इन्सासको गोली लागेका थियो । गोली पास भएको थिएन । रगत बगेर अन्तिम अवस्थामा छटपटाइरहेका थिए हाम्रो सम्पर्कमा आउँदा । मैले गोली निकालेर सिलाएको त्यो घाउ कस्तो भयो होला ? एकपटक सोध्न मन छ, तपाईंको जनयुद्धको चिनो कस्तो छ भनेर ? यो संस्मरण लेख्दै गर्दा क. मनीषप्रति उच्च सम्मान छ । मेरो सिलिन्डरको चिनोजस्तै उनको पनि जनयुद्धको घाइतेको चिनो होला शरीरमा अहिलेसम्म पनि ।

गणतन्त्र आएपछि पनि सङ्कुचित र कुण्ठित केही मान्छे जातीयको नेता बने, धार्मीको नेता बने, वर्ण र समुदायको नेता बने, तर भुइँमान्छेको नेता कोही बनेनन् यो तन्त्रमा पनि । वर्गीय मुक्तिबिना सबै कुरा अधुरो हुन्छ भनेर कुनै नेताहरूले पनि भनेको सुनिएन ।

निरन्तर एक हप्ता मोर्चाको योजना कार्यान्वयनमा नै बित्यो, थकाइ निकै थियो । हाम्रो टोली सकुशल रिटिट भयो र निश्चित गन्तव्यमा आइपुग्यौँ, त्यही कौवाडाँडामा । तीन महिनाअघि दमारको स्याउबाजेको घरबाट छुट्टिएको हामी गोधूलि सन्ध्यासम्म पनि तिमी आएनां, मन बेचैन भयो । तिम्रो ग्रुपका लागि खाना पकाउने जिम्मा पनि मेरो टिमको परेको थियो । खाना तयारी गरेर खाद्यान्न स्टोरतर्फ गएँ कहीँ तिमीलाई देख्छु कि भनेर, तिमीलाई त्यहाँ पनि देखिनँ । स्टोरको काम सकेर तिमीले नै एसल्ट गरेर लिएर गएको साथी विजयको नजिक गएर सोधेँ– तपार्इंहरू गएको मोर्चाको बारेमा के भयो कमरेड ? मेरो प्रश्न सकिनेबित्तिकै सायद उहाँलाई हाम्रो सम्बन्धबारे थाहा थिएन । उनले भने, ‘नुवाकोट घर भएको हाम्र्रो एसल्ट कमान्डर क. सचिन सहिद हुनुभयो ।’ मैले निकै कोसिस गरेर आफूलाई सम्हालेँ, बोल्न, रुन चिच्याउन केही गर्न अनुमति थिएन मलाई । सरासर म बसेको घरमा पुगेँ, त्यहाँ पनि रुने वातावरण थिएन । बेलुकाको खाना खाने समय थियो । सबै साथीहरू खानाको तयारीमा थिए । कस्तो विडम्बना ! जीवनको सबैभन्दा प्रिय मान्छे गुमाउँदासमेत मन फुकाएर रुन नपाउने ! उसको यादमा चिच्याउन सकिनँ । मन नभएर नचिच्याएको त कहाँ हो र ! युद्धमा समाहित सिपाहीको पनि मन त कहाँ पत्थरले बनेको हुन्थ्यो र ? भोलिको रोलकलमा कमान्डर र सहयात्रीले कस्तो कायर र कातर मुटु भएकी रहिछे भन्छन् भन्ने डर लागेर पो धित मरुन्जेलसम्म पनि रुन नपाई ल्याएको हो त यो गणतन्त्र हामीले !! अर्थात् म जस्तै विधुवा चेलीको पुछिएको सिउँदोले १७ हजार वीर योद्धाको बलिदानले ।

नीलो आकाशमा कालो बादल मडारियो, सुन्दर सपना खोसियो । धर्तीमा अभीष्ट हुनै लागेकोजस्तो त्यो समय मेरा लागि टेकेको जमिन भासिँदै थियो । सेल्टर लिएको घरको एक कुनामा बसेर सम्झिरहेँ– आठ महिनाअघि बहिनी उषा थापाको सहादत भएको आठ महिनापछि प्रिय जीवनसाथी आनन्दकुमार थापाको कुन अनुहार लिएर आमालाई फेरि तपाईंको छोरा सर्वहारा वर्गको लागि सहिद भयो भनौँ भनेर ? यो मेरो जीवनको वास्तविक यथार्थ थियो । मैले सबै पीडा सहनु नै थियो । सहेँ चुपचाप, सहेँ कहिले आँसुले परेली भिजाएर सहेँ, कहिले आधा रातमा परेका सपनाका ऐठनमा सहेँ जे–जति सहेँ चुपचाप सहेँ, मनमनै सहेँ ।

म हेडक्वार्टरमा उपस्थित भएँ । त्यतिखेरका ब्रिगेड कमान्डर हरिबहादुर श्रेष्ठ, कमिसार सन्तु दराई र कमान्ड इन्चार्ज हालका बहालवाला सभापति अग्निप्रसाद सापकोटा थिए । अहिले सम्झँदा लाग्छ बडो अचम्मले सम्झाइबुझाई भयो– मलाई सहिदको रगत खेर जान दिनेछैनौँ, उहाँहरूको सपना पूरा गर्नका लागि कुनै पनि कसर बाँकी राख्नेछैनौँ । १७ वर्षमा यो कुरा पनि प्रमाणित भयो कि यो सब भन्ने कुरा मात्रै रहेछ । संसद् भवनभित्र छिरेपछि त्यो हलको मर्यादाले हिजोको बलिदानलाई नजरअन्दाज गर्दाेरहेछ । मलाई तिम्रो बलिदानसँग गुनासो छैन, गुनासो छ त हिजोका असरल्ल सपनालाई कुल्चनेसँग वर्गीय सपनामा कुठाराघात गर्नेहरूसँग ।

एउटा सम्झनामा बितेको पल मनदुखाइको प्रवाह थिएन त्यो बेला ! मात्र प्रवाह थियो त वर्गदुस्मनको किल्ला भत्काएर सुनौलो सपना जनताको घरआँगनमा ल्याउने । हिजोका नायकहरू खलनायकमा फेरिएलान् र म तिनीहरूको विरुद्धमा खबरदारी केही लेखौँला भनेर सोचेको पटक्कै थिइनँ ।
मलाई बाँचुन्जेल कसैको गुलामी र उसको असल कारिन्दा बन्नु छैन । सत्य र न्यायको पक्षमा सकेको चिच्याउन सकुँ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर थोरै भए पनि सामूहिक स्वार्थमा रमाउन सकुँ । त्यही आशीर्वाद र सार्थकता मिलिरहोस् तिम्रो आत्माबाट ।

सजीव प्राणी, त्यसमा पनि मान्छे भएर जन्मिएपछि तिरस्कृत होइन पुरस्कृत भएर बाँच्नुपर्छ । तिमीले भनेका कुराहरू आज पनि उत्तिकै प्यारो लाग्छ मलाई । तिमी जनमुक्ति सेनाको सदस्य मात्र थिएनौ, प्रतिरोधको सक्रियता पनि थियौ । साँच्चै तिमीले भनेको जस्तो लेख्नुको अर्थ भौतिक विलासिता नभएर उच्च मानवताको अभ्यासकर्ता कम्युनिस्ट थियौ । लेख्नको लागि लड र लड्नका लागि लेख भन्ने मान्यतालाई आत्मसात् गरेर नै बन्दुकको गोलीजस्तै कलम पनि तिखो थियो तिम्रो ।

क्यामेराले खिचिएका तिम्रो तस्बिर कलरविहीन भए । तर, तिम्रो यादहरू झन् उज्जलित रङ्गीन कलरमा सजिरहे । त्यही यादले सच्चा जीवनलाई बाँच्न सिकायो र सच्चाइको जीवन बाँचिरहेकी छु । म जन्मे–हुर्केको समाजले अझ पनि मलाई निर्धक्क बाँच्न र मेरो पौरखमा रमाउन दिँदैन ! मैले रोजेको आत्मनिर्भरता तिनीहरूलाई पटक्कै मन पर्दैन । सधैँ दोस्रो दर्जाको नागरिक सोच्नेले म मेरो परिश्रममा खुलेर हाँसेको पनि मन पराउँदैन !! त्यतिखेर असाध्यै प्यारो लाग्छ तिम्रो भौतिक उपस्थिति, फेरि याद गर्छु कुनै रात तिमीले भनेका थियौ, ‘यदि मुक्तिको यात्रामा हामी दुईमध्ये म समरको यात्रामा पहिला बिलाएँ भनेँ पनि बाँकी जीवनलाई भौतिक, शारीरिक र मानसिक अवस्थामा आउने हजारौँ चुनौतीलाई सामना गरेर अगाडि बढ्नू, त्यही काफी छ । जीवनमा मार्ग–निर्देशनका लागि बाँकी दुनियाँसँग त म एक्लै लडेँ, लड्छु र लड्नेछु ।’

आन्दोलनको नेतृत्व गरेका नेताहरू अहिले सहिद र बेपत्ता योद्धालाई अंशबन्डा लगाउँदै छन् । सहयोद्धाहरू रूपमा त छन्, आत्मा र चिन्तनसहित छन् कि छैनन् ? खोज्नैपर्ने हुन्छ । तिनी जीवित भएको भए कसलाई राजनीतिक नाइके वा नेता मान्थे होलान् ? आजको प्रश्न छ । तिम्रो बलिदानमा तिनले चिच्याउने कर्कश आवाजभित्र जालझेलको मार्गचित्र प्रस्ट देखिन्छ ।

कम्युनिस्ट शासकमा हुनुपर्ने चरित्रबारे दार्शनिक प्लेटोले भनेका थिए– उनीहरू व्यक्तिगत सम्पत्तिविहीन हुनुपर्छ । शिक्षित दार्शनिक हुनुपर्छ । व्यक्तिगत र पारिवारिक जीवनभन्दा माथि उठेको हुनुपर्छ । आममानिसको भन्दा चिन्तन, चेतना र विवेकको आधारमा उच्चकोटिको एवम् लोभमुक्त हुनुपर्छ । त्यसो भयो भने मात्रै एउटा सुन्दर राज्यको सम्भावना हुन्छ । के यो सम्भव छ नेपालका कम्युनिस्ट पार्टीका नेताहरूमा ? सोचनीय प्रश्न छ ।

जब एउटा क्रान्तिकारी अभियन्ता सर्वहारा वर्गको वर्ग फेर्ने सपना देख्छ र अजम्बरी सपनालाई सम्झन्छ, वर्तमानलाई नियाल्छ, भविष्यबारे गम्छ तब हृदयका भावना खुलेर आक्रोशको शब्दहरू बन्छन् तब मान्छे सेन्टिमेन्टल भइदिँदोरहेछ । प्रतिक्रियाहरू अनेक तरिकाले व्यक्त हुन्छन् । शक्तिहरू आदेशमा उर्दी गर्छन्, तर विद्रोहीहरू संसारमा कहाँ पो उर्दीमा हाँकिए र ? उर्दीमा नहाँकिएका ज्वारभाटाविरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान् सहिद आनन्दकुमार थापा र क. राजेशप्रति लाखौँ श्रद्धासुमन । अजर–अमर सम्झना प्रिय आनन्द !!! त्यही घटनामा घाइते भएर अहिलेसम्म उपचार नपाउनुभएको घाइते कमरेड राम पाण्डे, क. उदीप, दोलखाका दिनेश लामा, नुवाकोटका कमरेडहरूप्रति उच्च सम्मान छ !!


प्रतिक्रिया दिनुहोस्