पूर्व राजा ज्ञानेन्द्र ५० र प्रचण्डका ५७ गरि २ सय जना सुरक्षाकर्मी फिर्ता, सीमा सुरक्षामा परिचालन गर्ने « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

पूर्व राजा ज्ञानेन्द्र ५० र प्रचण्डका ५७ गरि २ सय जना सुरक्षाकर्मी फिर्ता, सीमा सुरक्षामा परिचालन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका ५७ र पूर्व राजा ज्ञानेन्द्र शाहका ५० सुरक्षाकर्मी फिर्ता गरिएको छ । व्यक्तिको सुरक्षाबाट फिर्ता भएका जनशक्ति तथा सवारीसाधनलाई सीमा सुरक्षामा परिचालन गर्ने भएको छ  ।

केपी शर्मा ओली सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका करिब २ सय जना सुरक्षाकर्मी फिर्ता गरेको हो । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १३ वटा पछुवा गाडी र करिब २ सय जना सुरक्षाकर्मी फिर्ता गरेको जनाएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र तथा उनको परिवारका सदस्यको सुरक्षामा खटिएका ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ  ।

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २६, सशस्त्र प्रहरीका ३१ सुरक्षाकर्मी र नेपाल प्रहरीको एउटा अगुवा गाडी पनि फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका १ जना सशस्त्र प्रहरी फिर्ता भएका हुन् ।

पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम बहादुर रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन्  । पूर्व गृहमन्त्री जनार्दन शर्माले भने सुरक्षाकर्मी फर्काउन बाँकी छ । पूर्वराजा ज्ञानेन्द्र, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधब नेपाल र झलनाथ खनालले १६÷१६ जना शसस्त्र प्रहरी, २÷२ जना नेपाल प्रहरी र एक एक वटा पछुवा गाडी मात्रै पाउने छन्


प्रतिक्रिया दिनुहोस्