कोरोनाले थलिएको आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किदै, सबै आकारका उद्योगहरु ८७.२ प्रतिशत संचालनमा आइसके « Arthapath.com
८ मंसिर २०७८, बुधबार

कोरोनाले थलिएको आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किदै, सबै आकारका उद्योगहरु ८७.२ प्रतिशत संचालनमा आइसके



काठमाडौं । कोरोना महामारीले थलिएको आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किएको छ । नेपाल राष्ट्र बैंकले माहामारी पछि गरेको अध्ययनमा आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन लागेको देखाएको छ । कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा आर्थिक गतिविधि करिब फर्किएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

नेपाल राष्ट्र बैंकले कात्तिक ७ देखि १७ गतेसम्म टेलिफोन अन्तरवार्ता मार्फत गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी तेस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षणले आर्थिक गतिविधि पुरानै लयमा फर्किएको देखाएको छ । राष्ट्र बैंकले २०७७ असार, २०७७ मंसिर र २०७८ वैशाखमा यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । यसअघिका अध्ययनमा सहभागी भएका उद्योगी व्यवसायीहरुसँग सम्पर्क गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनमा गत कात्तिकसम्ममा सबै आकारका उद्योगहरु ८७.२ प्रतिशत संचालनमा आइसकेका छन् । जसमा घरेलु उद्योग ८८.४ प्रतिशत, लघु उद्यम तथा साना खुद्रा व्यापार ८६ प्रतिशत, १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना उद्योग ८०.८ प्रतिशत, १५ करोडदेखि ५० करोड रुपैयाँ स्थिर पुँजी भएका उद्योग ८१.४ प्रतिशत र ५० करोड रुपैयाँभन्दा बढीको स्थिर पुँजी भएका उद्योग व्यवसायहरु ९०.९ प्रतिशत पूर्ण क्षमतामा चलेका छन् । महामारीअघिको तुलनामा अहिले उत्पादन तथा कारोबारको अवस्था ७४.७ प्रतिशत मात्रै छ ।

अबस्था सहज भएसँगै रोजगारीको अवस्थामा पनि सुधार आएको छ । गत कात्तिकको अध्ययन प्रतिवेदनले उद्योग व्यवसायहरुले प्रदान गर्ने रोजगारी कोभिड अघिको तुलनामा ९७.२ प्रतिशत पुगेको देखाएको छ । जबकि २०७७ असारमा ७७.५ प्रतिशत, २०७७ मंसिरमा ८७.५ प्रतिशत र २०७८ बैशाखमा ९३.८ प्रतिशतले रोजगारी पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्