सस्तोमा सापटी पाए ब्याजदर एकल अङ्कमा झार्न लघुवित्त तयार, बेस रेट नतोक्दा बैंकहरूको मनोमानी बढ्यो !

काठमाडौं । बेला बेलामा अर्थमन्त्री जनार्दन शर्मा भन्छन्, ‘लघुवित्तको ब्याजदर घटाउनुपर्छ’ । अर्थमन्त्री शर्माको चाहना लघुवित्तको ब्याजदर घटाएर एकल अङ्कमा झार्ने हो । साना किसान तथा लगानीकर्तालाई सस्तोमा ऋण उपलब्ध गराउन लघुवित्तको ब्याजदर घटाउनुपर्ने मन्त्री शर्मा बताउँछन् । अर्थमन्त्री जनार्दन शर्मा विभिन्न कार्यक्रमहरूमा यस्तो कुरा बताउँदै आएका छन् । गाँउगाँउसम्म पहुँच रहेका लघुवित्तले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने अर्थमन्त्री शर्माको भनाई छ ।
सस्तोमा सापटी रकम पाए एकल अङ्कमा ब्याजदर तोक्न तयार लघुवित्त संस्थाहरू छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माले आफूहरूको कष्ट अफ फन्ड र अपरेशन फीमा कटौती गरे सिंगल डिजिटमा ब्याज दिन तयार रहेको बताए । “हाम्रो अपरेशन फी र कष्ट अफ फन्ड कम भएर २–४ प्रतिशतमा सापटी पायौ भने एकल अङ्कमा ब्याजदर झर्छ, कष्ट अफ प्रोडक्सनमै लागत बढेर बिक्री मूल्य घटाएर दिने हो भने कुनै कम्पनी टिक्न सक्दैनन्” सीईओ शर्माले भने ।
‘१२ प्रतिशतमा सापटी लिएको रकम एकल अङ्क ९ प्रतिशतमा लगानी गर्न सकिदैन’ सीईओ शर्माले भने, ‘यदि त्यस्तो गर्न खोजेको हो भने संस्था बन्द गर भने जस्तै हो ।’ लघुवित्तको स्रोतको सस्तोमा सुनिश्चित गरे एकल अङ्कमा दिन तयार आफूहरू रहेको उनको भनाई छ । पहिलाको कुरा स्मरण गर्दै सीईओ शर्मा भन्छन्, “कुनै समय २५ प्रतिशत ब्याजदर थियो, विस्तारै घट्दै २० प्रतिशत, १८ प्रतिशत हुँदै १५–१४ प्रतिशतमा झरेको छ, बैंकहरूले लघुवित्तलाई कम ब्याजदरमा सापटी दिने व्यवस्था गरिदियो भने पनि घटाउन तयार छौँ, पहिला पनि १८ बाट १५ मा झरेकै हो ।” बेस रेटको प्रिमियममा नियमन नहुँदा मनोमानी रुपमा चार्ज लग्ने हुँदा लघुवित्त संस्थाहरू मारमा परेको गुनासो उनले गरे । बेस रेट तोकेर नियमन गरिदिन उनले आग्रह गरे ।
राष्ट्र बैंकसँग बेस रेट तोक्न बेला बेलामा माग गरेपनि कुनै सुनुवाइ नभएको विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले बताए । बेस रेटको आधारमा लगानी गर्न पाउनुपर्यो भनेर राष्ट्र बैंकसँग माग गरेको भएपनि लागू गर्न नसकेको सीईओ शर्मा बताउँछन् । बैंकहरूले ब्याजदर बढाउँदा लघुवित्तले पनि बढाउन पाउनुपर्ने उनको माग छ । सीईओ शर्माले भने, “१२ प्रतिशतमा सापटी लिए १७ प्रतिशत, ५ प्रतिशत भयो भने १२ प्रतिशत, ६ प्रतिशतमा लियो भने १३ प्रतिशतमा लगानी गर्न पाउनु पर्यो, त्यसपछि मात्रै हाम्रो फिक्स मार्जिन हुन्छ, बेसरेट तोक्नको लागि राष्ट्र बैंकसँग धेरै पहल गरेका छौँ ।” बेस रेट नतोक्दा बैंकहरूले मनोमानी गरेको आरोप उनले लगाए ।
बैंकहरूको कष्ट अफ फन्ड बढेपछि ब्याजदर बढ्नुपर्ने स्वभाविक भएको सीईओ लम्साल बताउँछन् । तर बढेको भन्दा पनि धेरै बढाएको उनको भनाई छ । “हिजो प्रिमियम नै नलिएका संस्थाहरू ५ प्रतिशतसम्म दिनुपर्छ भनेको छ । किनभने अभाव भयो, सर्टेज भएपछि कालोबजारी भयो भन्छन् नी बजारमा, ८० रुपैयाँमा चीनि छ भन्दा छैन् भन्ने, १२० रुपैयाँमा लग्यो भने छ भन्ने, बैंकहरूले पनि त्यस्तै गरेको छ” सीईओ शर्मा भन्छन्, “बैंकहरुको बेस रेट ७ प्रतिशत छ, त्यसमा १–२ प्रतिशत प्रिमियम बढाएर दिनु भन्दा दिदैनन्, ५ प्रतिशत थप चाहिन्छ भन्छन्, थोरैमा नदिने वा छैन भन्ने अलि बढी पैसा दिन्छु भन्दा मिलाएर दिन्छु भन्ने, यसले राम्रो देखिएन ।”
लघुवित्तलाई नाफा हुनेगरि मार्जिन तोकिदिए आफूहरू सिंगल डिजिटमा लगानी गर्न तयार रहेको उनको भनाई छ । “२ प्रतिशतमा दियो भने एकल अङ्क (८–९प्रतिशत) मा कर्जा दिन्छौ, लघुवित्तको इन्ट्रेस्ट स्प्रेड कम्तिमा ७ प्रतिशत हुनुपर्छ, हामीले १२ मा पाउछौ भने १८–१९ मा लगानी गर्छाै, २ मा लियौ भने ९ मा लगानी गर्छाै, ५ लियौ भने १२ मा लगानी गर्छाै” सीईओ लम्सालले भने, “गरिबलाई सुविधा दिने कुरा गरिन्छ, तर राज्यले किन सस्तोमा सापटी दिँदैन, हामीलाई मार्जिन धेरै चाहिएन तर मार्जिन तोकिदिनुपर्यो, सस्तोमा हामी दिन तयार छौँ, लघुवित्तले कहाँबाट, कतिमा ल्याउछन् भनेर बुझ्नु छैन्, एकल अङ्कमा दिनु पर्यो भनेर भाषण गरेर हुन्छ ? ।”
अर्थमन्त्रीले चाहेमा लघुवित्तको ब्याजदर सस्तो हुने सीईओ लम्साल बताउँछन् । राज्यले अन्तराष्ट्रिय फण्डहरु आईएमएफस, वल्र्ड बैंक जस्ता संस्थाबाट २ प्रतिशतमा ल्याएर लघुवित्तलाई ३ प्रतिशतमा दिएपनि लघुवित्तको ब्याजदर घट्न सक्ने सीईओ लम्साल बताउँछन् ।