लघुवित्तको स्रोत सुकेपछि सापटी पाउन छोडे, सापटी नपाउँदा लघुवित्त घाटामा जाने चिन्ता ! « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

लघुवित्तको स्रोत सुकेपछि सापटी पाउन छोडे, सापटी नपाउँदा लघुवित्त घाटामा जाने चिन्ता !



काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता अभाव बढ्दै गएको छ । बैंकहरूमा तरलता अभाव बढ्दै जाँदा धेरै मर्कामा लघुवित्त संस्थाहरू परेका छन् । बैंकहरूमा निक्षेप घट्दै गएपछि कर्जा प्रवाह रोकेका छन् । बैंकहरूले कर्जा प्रवाह रोक्दा लघुवित्त संस्थाहरूलाई स्रोत जोहो गर्न धौधौ परेको छ । बैंकहरूमा तरलता बढ्दा लघुवित्तहरूलाई बैंकबाट सापटी पाउन गाह्रो भएको लघुवित्त संस्थाहरूले गुनासो गरेका छन् । 

बैंकहरूको निक्षेप संकलनभन्दा कर्जा लगानी ह्वात्त बढेको छ । जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम अभाव भएको छ । बैंकहरूले ठूलाठूला कर्जा दिन बन्द नै गरेको छ । बैंकहरूमा लगानीयोग्य रकम अभाव भएपछि लघुवित्त संस्थाहरूलाई पैसा दिने अवस्थामा बैंक छैनन् । 

अहिले लघुवित्तहरूले १२–१३ प्रतिशत ब्याज तिरेर रकम लिइरहेको छन् । महँगो ब्याजदरमा रकम लिएर १५ प्रतिशतमा लगानी गर्न लघुवित्तहरूलाई समस्या छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माका अनुसार बैंकहरूले सापटी दिन बन्द गरेका छन् । सापटी दिएपनि महँगो ब्याज दिनु परेको छ ।

तरलता अभाव हुनु अगाडि बैंकहरूले ८–९ प्रतिशत ब्याज लिने गरेका थिए । तर बैंकहरूमा नै पैसा अभाव भएपछि सापटी दिन बन्द गरेको, दिएपनि १३ प्रतिशतसम्म ब्याज लिने गरेको लघुवित्त संस्थाहरूले गुनासो गरेका छन् । लघुवित्त संस्थाहरूले पनि प्रोडक्ट हेरेर सापटी दिने गरेका छन् । लघुवित्त संस्थाहरूले कुनै प्रोडक्टमा १० प्रतिशत, कुनै प्रोडक्टमा १२ प्रतिशत, कुनै प्रोडक्टमा १३ प्रतिशत र कुनै प्रोडक्टमा १५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यसरी कर्जा दिँदा लघुवित्तहरू घाटामा जाने बताउँछन् । राष्ट्र बैंकले लघुवित्तहरूलाई कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था गरेको छ । 

बैंकमा तरलता अभाव हुँदा लघुवित्त संस्थाहरूमा ठूलो असर परेको लघुवित्त बैङ्कर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । लघुवित्तको स्रोत भनेको नै बैंक हो तर बैंकमा नै पैसा नभएपछि सापट पाउन गाह्रो भएको उनको भनाई छ । अध्यक्ष शर्माले भने, “लघुवित्त संस्थाहरू सापटीको लागि ५५ प्रतिशत बैंकहरूमा भर पर्छन्, अहिले बैंकहरूले पैसा दिन बन्द गरेको छ, पाएपनि १२, १३ प्रतिशत रेट तोकेको छ, हामीले १५ प्रतिशतभन्दा माथि लगानी गर्न नपाउने क्याप तोकिएको छ, १२, १३ प्रतिशतबाट लगानी ल्याएर दीर्घकालीन कति पचाउन र ? ।”

‘तरलता अभाव अघि ८–९ प्रतिशत को रेट थियो’ शर्माले भने ‘अहिले १३ प्रतिशतसम्म पुगेको छ । त्यसको असर कष्ट अफ फन्डमा पर्छ ।’ यस्तै अवस्था रह्यो भने लघुवित्तको मात्रै नभएर वाणिज्य बैंकहरूको नाफा पनि घट्ने शर्माले बताए । ‘वाणिज्य बैंकहरूले पनि महँगैमा निक्षेप उठाएर साढे १० प्रतिशत ब्याज दिन थाले नाफामा असर गर्नेछ । तर बैंकहरूले कर्जाबाट मेकअप गर्न सक्छन्, लघुवित्तमा भने नेगेटिभ असर गर्छ नै’ शर्मा भन्छन् । 

लघुवित्त संस्थाहरूले सापटी नपाएर संस्था चलाउन अप्ठ्यारो परेको विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साल बताउँछन् । “सापटिको लागि स्रोत नै सुक्यो, कुनै–कुनै बैंकले दिन्छ भनेपनि ११–१३ प्रतिशतसम्म ब्याज दिनुपरेको छ, विजय लघुवित्तले साढे १४ प्रतिशतमा कर्जा दिईरहेको छ, १३ प्रतिशतमा सापटी लिएर १४ मा लगानी गर्ने हो भने लघुवित्त चलाउन नै गाह्रो छ । लघुवित्तको खर्च नै ५ प्रतिशत छ ।”

तत्काल समाधानको लागि राष्ट्र बैंक अथवा सरकारले बैंकहरुलाई अलिकति रिल्याक्स दिएर सिडी रेसियोमा सहजता कायम गरेर पैसा दिनसक्ने अवस्था श्रृजना गर्नुपर्ने सीईओ लम्साल बताउँछन् । दीर्घकालीन समस्या समाधान गर्नको लागि लघुवित्तको छुट्टै कोष बनाउनु पर्ने उनको माग छ । लघुवित्त कम्पनीहरूले पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले जस्तै बेस रेटको आधारमा कर्जा लगानी गर्न माग गरेका छन् । 

बैंकहरूले सापटी दिन सक्ने अवस्था नभएपछि लघुवित्तलाई मात्रै नभएर आफ्ना ग्राहकरुलाई समेत कर्जा दिन नसकेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बताए । जोसँग दिनसक्ने अवस्था छ उनीहरुले दिईरहेको उनले दाबी गरे । कतिपय कमिटमेन्ट गरेका प्रोजेक्टलाई समेत कर्जा दिनसक्ने अवस्था नरहेको सीईओ खालिङले बताए । 


प्रतिक्रिया दिनुहोस्