गठबन्धन कि गाईजात्रा ? छुट्याउन मुस्किल « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

गठबन्धन कि गाईजात्रा ? छुट्याउन मुस्किल



रामशरण प्याकुरेल

नीति, विचार र कार्यक्रममा फरक छैन भने फरक–फरक पार्टीको अस्तित्व किन देखाउनुप¥यो ? गठबन्धनका दलहरूले एउटै पार्टी बनाए भइगयो नि । तर, उनीहरूमा यो हिम्मत देखिँदैन । उनीहरूले जनता र कार्यकर्तालाई किन बेबकुफ बनाइरहेका छन् ? विचारमा अन्तर बाँकी नरहेपछि गठबन्धनका दलहरू एउटै चुनाव चिह्न लिएर किन लड्दैनन् ? किन रूख, हँसिया–हतौडा, साइकल, कलम, छाता लिएर लड्नुप¥यो ?

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको सरगर्मी सुरु भएको छ । राजनीतिक दलले कोही गठबन्धन बनाएर त कोहीले तालमेल गरेर चुनावमा आफ्ना उम्मेदवार खडा गरेका छन् । स्वतन्त्र भन्ने पनि ‘नो नट एगेन’ भन्दै चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये को वास्तवमा स्वतन्त्र हुन् र को होइनन् ? छुट्याउनुपर्ने बेला आएको छ । कोही दलीय राजनीति त्यागेर स्वतन्त्र भनेर चुनावी मैदानमा देखिएका छन् भने कोही आफ्नो पहिचान लुकाएर निश्चित दललाई जिताउन स्वतन्त्र भएका छन् ।

राजनीतिक दल र निर्वाचनको मौसमले जनतामा ध्यानाकर्षण भएको भने अनुमान गर्न सकिन्छ । नेपाली काङ्ग्रेसले यो अवसर २००७ सालदेखि २०५६ सालसम्ममा पटक–पटक पायो र गुमायो पनि । हिजोअस्तिसम्म बाघ बनेको यो पार्टीको हविगत ओरालो लागेपछि बैसाखीको खोजीमा नै गठबन्धनको त्यान्द्रोको सहारामा पुगेको छ । नेतृत्वको एकोहोरो पेलाई र कार्यकर्ताको भावनाविपरीत जाने र कार्यकर्ता र जनतालाई दास बनाउने प्रवृत्तिको परिणामको भोगाइ पनि अहिलेको राजनीतिक परिवृत्तमा देखिएको छ ।

बिपीको समाजवादी चिन्तनमा अवसरवादी नवधनाढ्यको पार्टी कब्जाको प्राथमिकताले यो पार्टीको जनविश्वास गुमेको हो । भ्रष्टाचारविरुद्धमा कहिल्यै पनि पार्टीमा एजेन्डा बनेनन् । नेकपा माओवादीको धन्दाकारी प्रवृत्तिको त के कुरा गर्नु र ? प्रचण्डले आमूल परिवर्तन, क्रान्तिकारी छलाङको नाममा लुट र हिंसात्मक उद्योग चलाएका थिए । विदेशीको स्वार्थका लागि गरेको प्रचण्डपथले देशको अस्तित्व नै सङ्कटमा पु¥याउने देखेपछि एक किकमै पुनः कहिल्यै नउठ्ने गरी जनताले धुलो चटाए र यसपटक रहल–पहल पनि समाप्त हुने अवस्थामा रहेको देखिन्छ ।

राजनीतिमा निकृष्ट अभ्यासले निम्त्याएको काकतालीले प्रधानमन्त्री बनेका उनको पछिल्लो गठबन्धने कार्यकालबाट नेपाली जनता वाक्क भइसकेका छन् । नेकपा विभाजन गराएर देउवाको नेतृत्व जबर्जस्ती लादिएको मात्र हो । गठबन्धनसँग नेतृत्व पनि छैन, चुनावका लागि एजेन्डा पनि छैन ।

नेपाली जनताले गठबन्धन सरकारको खुट्टी देखिसकेका छन् । ०७४ को चुनावमै जनताले प्रधानमन्त्री पदमा पुग्न शेरबहादुर देउवालाई रोकेकै हुन् । अहिले पनि नेपाली राजनीतिमा निकृष्ट अभ्यासले निम्त्याएको काकतालीले प्रधानमन्त्री बनेका उनको पछिल्लो गठबन्धने कार्यकालबाट नेपाली जनता वाक्क भइसकेका छन् । नेकपा विभाजन गराएर देउवाको नेतृत्व जबर्जस्ती लादिएको मात्र हो । गठबन्धनसँग नेतृत्व पनि छैन, चुनावका लागि एजेन्डा पनि छैन । ‘काले–काले मिलेर खाऊँ भाले’जस्तो चरित्र देखाएको गठबन्धनले जनताको मन जित्न कुनै चमत्कार गर्ने अवस्था पटक्कै छैन । ‘संविधान र लोकतन्त्र बचाउन गठबन्धन आवश्यक छ’ भन्ने सुगारटाइबाहेक गठबन्धनसँग केही छैन । किनभने यस चुनावमा ठूलो असङ्गति त विभिन्न दलीय गठबन्धनमा देखिएको छ, जसमा विचारधारा र नीति तथा कार्यक्रमको सन्निकटता र लक्ष्यको एकरूपता बिलकुल गायव छ । नेताहरूको अर्जुनदृष्टि केवल चुनावी जय–पराजय र भोलिको सत्ता–स्वार्थमा केन्द्रित छ, त्यही भएर जो–जससँग पनि मिलेका छन् । राजनीतिक दृष्टिबाट हेर्दा गठबन्धन हो कि गाईजात्रा, छुट्याउन मुस्किल छ । यस्तो तुकहीन गठबन्धन संस्कृतिबाट लोकतन्त्रको समुन्नत विकास असम्भवप्रायः छ ।

पाँचदलीय गठबन्धन एकप्रकारको मृत्युउन्मुख रहेको गठबन्धन हो । मिल्ने–नमिल्ने यन्त्र जोडेर यसको आकृति देखिएको छ । चुनावी मोर्चामा गठबन्धनका विरुद्ध एक्लै उभिएको एमालेका लागि गठबन्धनको तुलनामा शानदार हिसाबले एकल बहुमतको सरकार निर्माणमा सफलता पाएको ऐतिहासिक अवसरको मौसम रहेको छ । नेपालका राजनीतिक दलले दलीय व्यवस्थाको ६५ वर्षे इतिहासमा के पाए के गुमाए त्यसको लेखाजोखा त दलहरूले आ–आफ्नै बहीखातामा अवश्य नै रेकर्ड गराएका होलान् । गल्ती र कमी–कमजोरीबाट के–कस्ता पाठ सिकेर अवसर पाए वा गुमाए त्यसको हिसाब–किताब पनि दलले नै गरेको हुनुपर्दछ । विवेकशील जनताले यसको मूल्याङ्कन गरिरहेका छन् र यसपटकको निर्वाचनमा पनि गर्नेछन् । अहिलेका राजनीतिक दलहरूले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, अहिले केवल सत्तास्वार्थ हेतु बनेको गठबन्धनले हाम्रो लोकतान्त्रिक शासन पद्धतिको व्यवस्थापन र विकासको काम गर्न सक्दैन । आजभोलि मानिसलाई तीनवटा आधारभूत व्यक्तिगत प्रेरणाले डो¥याएका हुन्छन्– महत्वाकाङ्क्षा, विकल्प र लाभ । जब यी प्रेरणा, राजनीतिक दलको लक्ष्य र देशको हितबीच मेल हुन्छ, तब राजनीतिप्रति राम्रा व्यक्तिको पनि आकर्षण बढ्दै जान्छ । अनेकन् स्वार्थको गठजोड यो अहिलेको गठबन्धन राजनीतिक मूल्य–मान्यताप्रति प्रहार गरेर सर्वथा लोकतान्त्रिक प्रणाली, पद्धति र विधिका विरुद्धमा छ ।

अहिलेको गठबन्धनको राजनीतिले न जनताका सपनाको प्रतिनिधित्व गर्छ, न त यसरी हाम्रो राजनीतिले मूलबाटो नै समाउँछ ? राजनीति फगत सत्ता होइन, यो समाजको वैचारिक अभिव्यक्ति हो । दलहरूले विचार, मुद्दा र सपनाको जसरी सत्यानाश गर्दै छन्, त्यसको परिणाम गम्भीर, अराजनीतिक र उल्टो हुने पक्का देखिन्छ । आज हामीले अपनाइरहेको राजनीतिक प्रणाली बहुदलीय संसदीय व्यवस्था हो । यो व्यवस्थामा व्यक्तिभन्दा दल सधैँ प्रधान हुन्छ, यद्यपि दलको नेतृत्व सामूहिक रूपमा व्यक्तिले नै गर्छ । तर, हिजोआज व्यक्तिलाई मात्र प्रधान बनाएर राजनीतिक प्रणालीलाई कमजोर बनाउने प्रयास भइरहेका छन् । यस्ता गतिविधिले गर्दा व्यवस्थाविरोधी समूह अझ उत्साहित भएर बहुदलमा निर्दल अनि गणतन्त्रमा राजतन्त्रको वकालत गर्दै छन् । अहिलेको दलीय गठबन्धनको राजनीतिले दलहरूबीच कुन वैचारिक राजनीतिक अन्तर नरहेको कटु सत्यको उजागर गर्दछ । नीति, विचार र कार्यक्रममा फरक छैन भने फरक–फरक पार्टीको अस्तित्व किन देखाउनुप¥यो ? गठबन्धनका दलहरूले एउटै पार्टी बनाए भइगयो नि । तर, उनीहरूमा यो हिम्मत देखिँदैन । उनीहरूले जनता र कार्यकर्तालाई किन बेबकुफ बनाइरहेका छन् ? विचारमा अन्तर बाँकी नरहेपछि गठबन्धनका दलहरू एउटै चुनाव चिह्न लिएर किन लड्दैनन् ? किन रूख, हँसिया–हतौडा, साइकल, कलम, छाता लिएर लड्नुप¥यो ?

लोकतान्त्रिक शासन प्रणालीमा आफ्नो अपरिहार्य र अग्रणी भूमिका निर्वाह गर्ने हैसियत राखेकोे एउटा दलविशेष (एमाले)को विरुद्धमा मात्र बनेको यो गठबन्धनको तमाम कुप्रचार हुँदाहुँदै पनि नेकपा एमालेको सरकारको पालामा जति अरू कुनै पनि सरकारको पालामा विकास निर्माणका काम नभएको तथ्य आफैँ बोलिरहेछन् । जसले यो कुरा हावादारी सम्झन्छन्, जो यसमा असहमत छन् तिनले आफ्नै गाउँघरको विकास निर्माणको अध्ययन गरे आफैँ तथ्य बोल्नेछ । एमालेको सरकार बन्नुअगाडि ०५१ सालको अल्पमतको सरकार र त्यसपछि बनेका एमाले सरकारले देशका लागि कुनै न कुनै नयाँ र नौलो आयाम थप्ने काम भएका छन् भने ०७४ सालमा बनेको ओली नेतृत्वको सरकारले आमूल परिवर्तनको रेखाङ्कन गरिसकेको छ । जतिसुकै विरोध गरे पनि देशको समृद्धिको सपना देख्ने नेता केपी शर्मा ओली नै हुन् । हिजो पनि नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र उहाँको नेतृत्वको सरकारले देखेजस्ता सपना अन्य पार्टीले पटक–पटक अवसर पाएका समयमा न काङ्ग्रेसले देखाउन सक्यो न त अन्य दलहरूले नै ।

आज नेपालका राजनीतिक दलहरूमा एमालेतिरको क्रेज सत्तामा रहँदा होस् वा सत्ताबाहिर रहँदा पनि ओलीको कारणले राजनीतिक रूपमा अब्बल देखिएको छ । एमालेलाई षड्यन्त्रपूर्वक सत्ताच्यूत गरेपछिका राजनीतिक घटनाको अध्ययनले के बताइरहेको छ भने आगामी निर्वाचनमा पनि देशको ठूलो पार्टी मात्रै होइन, शानदार बहुमतको सरकार बनाउने पार्टी नेकपा एमाले मात्रै रहेको देखिन्छ, जहाँ एक्लै ९५ प्रतिशत सिटमा उम्मेदवार दिने पार्टी नेपालमा एमाले मात्र देखियो । अहिले दर्शन, सिद्धान्त, कर्म र व्यवहार केही पनि नमिल्ने काङ्ग्रेस र माओवादीको आगामी चुनावसम्मको पाँचदलीय एकता सिद्धान्तहीन एकता हो । यो एकता परिवर्तन र विकासविरोधी एकता हो । देशको उन्नति रोक्ने आत्मघाती षड्यन्त्रबाहेक केही पनि होइन । पार्टीको नाम जे राखे पनि यसबेला नेपालमा देशभक्त स्वाभिमानीको राज्यसत्ताको आवश्यकता रहेको छ । देशको विकास गरेर जनतालाई समृद्धिका लागि काम गर्ने सरकार नेपाली जनताले चाहेका छन् । जो त्यस्तो सरकार दिन सक्ने नेतृत्व नेकपा एमालेसँग मात्रै बलियो रूपमा रहेको छ । आगामी निर्वाचनमा नेकपा एमालेलाई सबै दलका देशभक्त र स्वाभिमानको साथ चाहिएको छ । आज एमालेलाई हाल्ने भोट केवल औपचारिकता नभएर देशको भविष्यसँग गाँसिएकाले नै आममतदाताले गम्भीरतापूर्वक फैसला गर्नेछन् ।


(लेखक ः नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार हुन्)


प्रतिक्रिया दिनुहोस्