‘बजेटमा सरकारको दोहोरो भुमिका हुन्छ, निजी क्षेत्रको माग आउछ, रातो किताबमा पर्दैन’: अध्यक्ष ढकाल « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

‘बजेटमा सरकारको दोहोरो भुमिका हुन्छ, निजी क्षेत्रको माग आउछ, रातो किताबमा पर्दैन’: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले बजेटमा राम्रो र लोकप्रीय बुदाँ राखेपनि आर्थिक ऐन र विद्येयकमा फरक आँकडा राख्ने गरेको बताएका छन् । सरकारको त्यस्तो प्रवृतिले उद्योगीहरु असन्तुष्टी रहेको उनले बताए ।

साथै, उद्योगीहरुको बजेट प्रतिको प्रतिक्रिया नै फरक पर्ने जाने उनले बताए । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बजेट बनाउने बेलामै सरकारले दोहोरो भुमिका खेल्ने गरेको उनको भनाइ छ । बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो कितावमा नआउने समस्या पनि कायमै रहेको उनले बताए । यसपाली पनि निजी क्षेत्रले उठाएका मागहरु बजेट भाषणमा समेटिए पनि रातो कितावमा नपरेको उनको भनाइ छ ।

यद्यपि, निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपुर्ति र निर्यात बढाउनेलगायतका बुँदाहरु स्वागतयोग्य रहेको उनले बताए । तर, अघिल्लो आर्थिक ऐनले ल्याएका धेरैजसो सकारात्मक कुराहरुलाई हालको आर्थिक ऐनले निरन्तरता नदिनाले निजी क्षेत्र निरुत्साहित भएको उनको भनाइ छ ।

यस्ता कुराहरुमा सुधार हुनुपर्नेमा उनले जोड दिए । कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पुरै देशकै उद्योगक्षेत्रको तस्विर देखाउँने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गर्नुपर्ने बताए । यस्तै, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बजेटपछि उद्योगीहरु रुष्ट हुने प्रवृत्ति रहेको बताए । ‘भाषणलगत्तै उद्योगी व्यवसायीले बजेटमाथि राम्रो प्रतिक्रिया दिन्छन् । तर, त्यो कायम रहदैन,’ उनले बताए ।


प्रतिक्रिया दिनुहोस्