करको दरमा कसैको प्रभाव छैन, व्यवसायीले हिलो छ्याप्ने काम गरे : अर्थमन्त्री महत « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

करको दरमा कसैको प्रभाव छैन, व्यवसायीले हिलो छ्याप्ने काम गरे : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरमा कसैको प्रभाव नभएको बताएका छन् ।

आर्थिक मिडिया संचालहरुको साझा संस्था आर्थिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले सोमबार राजधानीमा आयोजना गरेको पोस्ट बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएको बताए । रिसाएका व्यवसायीहरुले नै व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको अर्थमन्त्री महतले बताए । सोही अवसरमा सबै राजश्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरि राजश्वको दर टुङग्याइएको र यसमा कसैको प्रभाव नभएको उनले जानकारी गराए ।

आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए। मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’

बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरु रिसाएका मन्त्री महतले बताए । मन्त्री महतले भने ‘बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरेका छन्। यो प्रश्न मैले पनि गर्ने गरेको छु। बजेटको आलोचना हुन सक्छ। तर हामी सुधारको कार्याक्रम लागू गर्छौं।’

बजेटले लिएको लक्ष्य पुरा हुने उनको भनाई थियो । ‘राजस्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय छ। निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनि माग गरेका छन्। हामीले कम्तिमा तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको छ’–अर्थमन्त्री महतले भने ।

सरकारले लक्ष्य अनुसार नै भ्याट लगाएको भन्दै यसलाई वैज्ञानिक बनाउँदै जानुपर्ने उनको भनाई थियो । ‘म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए। अहिले लिन नपाएको हुन सक्छ। मन्त्री महतले भने म चुनौति दिएर भन्न चाहान्छु। इमान्दार इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो छ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन।’

आयातमा रमाइरहेका व्यापारीहरु बढि रिसाएका मन्त्री मतहले बताए । सोही अवसरमा विद्युतिय गाडीमा सामान्य हेरफेर गरिएको महतले बताए । उनले भने,–‘लजिकल प्रोग्रेसन गरिएको छ। धेरै कुरा आएका थिए । नत मैले इभी वालाको सुने नत पेट्रोलियमको पनि कुरा आएका थिए। मैले चाहिने कुरा मात्रै सुने ।’ यस्तै, सेयर बजारको विषयमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्