‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’ « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’



काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजि क्षेत्रमा प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भेटवार्ता भएको छ ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआईआईबीलाइ नेपालमा लगानी गर्न आग्रह गरे । सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो ।

एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पु¥याउन सक्ने बताए ।

ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताए । ढकालले एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको छ, र हामी सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक रहेको जानकारी गराए ।

महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको जानकारी गराए । उनले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए ।उनले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए । ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए ।

लगानीका बारेमा थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी गराए । यसपटकको लगानी सम्मेलनको राम्रो पक्ष भनेको निजी क्षेत्रलाई पनि सहआयोजकका रूपमा समावेश गरिएको उनले बताए ।

ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । महासंघको अध्यक्षको हैसियतले नेपालको सामाजिक–आर्थिक विकासका लागि हामीले कुनै कसर बाँकी नराख्ने बताए । निजी क्षेत्रले जहिले पनि समयमै गुणस्तरीय आयोजना सम्पन्न गरेको उनले बताए । निजी क्षेत्रले अब एआईआईबी जस्ता संस्थासँग थप सहकार्य खोजिरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्