राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थाल्यो: अध्यक्ष ढकाल « Arthapath.com
१८ चैत्र २०८०, आईतवार

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थाल्यो: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताए ।

शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए ।

यसैबीच उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले नबुझेको उनले बताए ।

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । उनले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे ।

निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । उनले लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्ने बताए ।

मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्