प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आएन, अब ढाँचा परिवर्तन गर्नुपर्छ: मन्त्री अर्याल « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आएन, अब ढाँचा परिवर्तन गर्नुपर्छ: मन्त्री अर्याल



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताए ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताए ।

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रुपमा परिणाम आउन नसकेको बताए । ‘जुन उद्धेश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाम मुखी बनाउन यसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ’, उनले भने ।

मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । ‘भनिन्छ डक्टरको व्यवहारले विरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, उर्जा मिलोस,’ उनले भने ।

सोही अवसरमा श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफनो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गरे । उनले भने, ‘तपाईहरु जनतालाई सेवा गर्न पाउने जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनु भएको छ । यो अवसरलाई भरपुर प्रयोग गर्नुहोला ।’

यता, मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पन्चमाया योन्जनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको बताए । तालिम पछि कार्यक्रममा प्रति अपनत्व महसुश भएको उनले बताए । त्यस्तै, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्नका लागि उर्जा मिलेको बताए ।

मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस्