बजेटले औद्योगिक वातावरण बनाएन, मौद्रिक नीतिले सुधार आवश्यक: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैलाई सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । उनले बजेटले उद्योगलाई छुन नसकेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले बजार चलायमान हुने गरी नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरे ।
आगामी आर्थिक वर्षको बजेटले औद्योगिक गतिविधि चलायमान बनाउन सक्ने खालको नआएको बताउँदै मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए ।
लगानीमैत्री मौद्रिक नीति ल्याउन समेत उनले सुझाव दिए । ‘मौद्रिक नीतिले लगानीमैत्री वातावरण बनाउनुपर्छ । साना कर्जा सुविधाको विस्तार गर्नुपर्छ । घरजग्गाको कारोबार घटिरहेको छ । यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ ।’ उनले भने ।
बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई पनि बचाउने गरी मौद्रिक नीति ल्याउन उनले सुझाए । ऋण तिरिसक्दा पनि कालोसूचीबाट नहटाउने प्रवृत्तिले व्यवसायीहरू समस्यामा पर्ने गरेको पनि उनले सुनाए ।
सबै ऋण खराब प्रवृत्तिको नहुने भन्दै कतिपयलाई परिस्थितिले यस्तो अवस्थामा पुगेको उनले बताए ।