विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सातौँ सम्मेलनको उद्घाटन समारोहमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा व्यक्त गरे । उनले भने,‘नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले हाम्रो अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको छ ।’
दुवै देशका व्यापारिक समुदायबीच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो ।
“नेपालको व्यापार र लगानीसम्बन्धी यस महत्वपूर्ण सम्वादका लागि हामी एकसाथ आउँदा सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी छ, हामी हाम्रो व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौं”, उनले भने ।