घट्दो सेयर बजारप्रति अर्थमन्त्रालयको चासो, एक्कासी नेप्से कार्यालय पुगेका अर्थमन्त्रीले के भने ?
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटेपछि सरकारले चासो देखाएको छ ।
बजारमा आइरहेको गिरावट र समसायिक विषयमा छलफल गर्नका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बुधवार दिउँसो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालय पुगेका छन् ।
अर्थमन्त्री पौडेल अर्थमन्त्रालयका राजश्व सचिव दिनेश घिमिरे, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यवहाक अध्यक्ष महेश बराल लगायतका सहभागित थियो ।
नेप्से व्यवस्थापनसँग अर्थमन्त्री पौडेललले सबै अवस्था सहज हुँदा हुँदै पनि बजारमा आएको गिरावटले अर्थमन्त्रालयको ध्यान केन्द्रित गरेको बताए ।
उनले बजारमा हुने अवाञ्छनीय गतिविधिलाई रोक्न सुझाव समेत दिए । बजार प्रभावित पार्न गतिविधिलाई रोकि सहज हुन नेप्से नेतृत्वलाई निर्देशन दिएका हुन् ।
‘बजार निरन्तर बढीरहेको थियो । मुलुकको राजनीतिक घटना क्रम पनि ठिकठाक छ । ३ हजार सम्म पुगेको नेप्से २५ सय मा कसरी आइपुग्यो ? दैनिक ३० अर्ब हाराहारीमा भइरहेको कारोबार पनि सुस्ताएको छ । यस्तो अवस्था किन आयो’, अर्थमन्त्री पौडेलले प्रश्न गरे ।
सोही अवसरमा अर्थमन्त्री पौडेलले सरकार पूँजी बजारको दिगो विकासको पक्षमा रहेको बताए । बजार सुधारका लागि आवश्यक कदम चाल्न ढिला गर्न नहुने समेत उनको भनाई थियो । ‘सरकार बजारको दिगो विकासको पक्षमा छ । आवश्यक कदम चाल्न पनि ढिलाई हुदैन । तर, नेप्सेले बजारमा हुने अवाञ्छनीय तथा बजार प्रभावित पार्ने गतिविधिको निगरानी बढाई रोक्नु पर्छ’, पौडेलले भने । उनले प्रणालीगत आवश्यक सुधारका लागि सरकार तयार रहेको जानकारी गराए ।
हल्लाको पछि लागेर होइन कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्ने बताए । उनले भने,‘लगानीकर्ताहरु हल्लाको पछि लागेर होइन, कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ । नेप्सेले पनि गुणस्तरी सेवा प्रवाह र लगानीकर्ताको विश्वास जित्ने गरि कार्य गर्न सुझाव छ ।’