सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, सबैलाई छानविन गरिन्छः सञ्चारमन्त्री गुरुङ
कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सहकारी ठगी सम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन् ।
रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट पारे । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने प्रष्ट पारे ।
‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सयजना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन । रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन । कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ एमाले लमजुङले आज आयाजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले भने ।
सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पारे । ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने ।