मुलुकमा आर्थिक गतिबिधि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक गतिबिधि बढिरहेको दाबी गरेका छन् । हिउँदे अधिवेसनको पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेको आर्थिक उपलब्धीको तथ्यांक पेस गर्दै यस्तो दाबी गरेका छन् ।
‘हामी संसदमा पो पक्ष प्रतिपक्ष हौं त । देश विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्ने कुरामा पनि पक्ष विपक्ष हुन्छ र ? बैंकमा लगानीयोग्य पैसा छ, तर कोही व्यवासायी ऋण लिएर किन लगानी गरिरहेको छैनन् ? विदेशवाट रेर्कड ब्रेक रेमिट्यान्स भित्रिंदा पनि किन वजारमा मागमा कमी आइरहेको छ ? घरजग्गा व्यवसाय किन सुस्तायो ?’ ओलीले प्रश्न गरेका छन् ।
यो अवस्थालाई सरकारले सावधानीपूवर्क नियालीरहेको बताए ।
निजी क्षेत्रको मनोबल उकास्न, देशमा लगानी र व्यवासायिक वातावरण वनाउन, सुशासन र नागरिकको जीवनमा प्रभाव पार्ने वर्षौदेखि गर्न नसकिएको कानुन सुधारको काम यसपटक अध्यादेशमार्फत गरेको जिकिर गरे । उनले अध्यादेश संसदको सम्पत्ति भएको भन्दै अस्वीकार गर्ने वा जस्ताको तस्तै पारित गर्ने भन्ने जिम्मा सदनको भएको बताए ।
सरकारले धर्मराएको अर्थतन्त्रलाई सुधारको बाटोमा लागेको उनको दाबी छ ।‘मैले बताइरहनु पर्दैन, हामीले सरकारको जिम्मा लिइरहँदा देशको स्थिति जर्र्जर थियो । मैले त्यतिबेला यही संसदको रोष्ट्रममा उभिएर भनेको पनि थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक अनुभव गर्यो । देशप्रति आम जनताको भरोसा टुटेको थियो। तिनको मनोबल नराम्ररी गिरेको थियो । विकास निर्माणका काम चौपट थिए । अर्थतन्त्र अत्यन्तै सकसपूर्ण अवस्थामा थियो’ उनले भने ।
विकाराल अवस्थाबाट मुलुकलाई जोगाउन दुई ठूला दलको अगुवाइमा सरकारको निर्माण भएको समेत उनले स्मरण गराए । ‘मलाई लाग्छ, ६ महिनाको अवधिमा सरकारको काम गर्ने तरिकाले देशमा व्याप्त गहिरो निराशालाई चिर्न, जनतामा आशा र उत्साह सञ्चार गर्न, अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान हामी धेरै हदसम्म सफल भएका छौं । यद्यपि हामीले गर्न बाँकी काम धेरै छन्’ उनले भने ।
प्रधानमन्त्री ओलीले यसबिचमा भएका आर्थिक प्रगतिको सूचकांक प्रस्तुत गरेका छन् । ‘आँकडामा बोल्नु पर्दा हामी सरकारमा आउनुअघि र पछिका अर्थतन्त्रका केही परिसूचकको तुलनात्मक जानकारी राख्ने अनुमति चाहन्छु’ उनले भने ।
यस्तो छ ओलीले पेस गरेको आर्थिक सूचकांक
– चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ । गएको आर्थिक वर्षको तुलनामा राजश्व संकलन १३ प्रतिशतले बढी छ ।
- नेपाल सरकारको कुल खर्च गत वर्षको यसै अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष यही अवधिमा अघिल्लो वर्षको तुलनामा यस्तो वृद्धिदर १.७ प्रतिशत मात्र थियो ।
- चालु आर्थिक वर्षको तुलनामा ७.१ प्रतिशतले आयात वृद्धि भएको छ ।
- चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ । गएको वर्ष यसै अवधिमा ७.१ प्रतिशत मात्र बृद्धि थियो।
- चालु आर्थिक वर्षको ६ महिनाामा गएको वर्ष भन्दा करिब ३५ अर्व रुपैया कर्जा बढी प्रवाह भएको छ ।
- चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेप्से परिसूचक २५९४ रहेको छ । गत वर्षको यसै अवधिमा २१२० रहेको थियो ।
- चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति वचत २ खर्व, २५ अर्व, ३४ करोड रहेको छ । गत वर्षको यसै अवधिमा २ खर्व, १६ अर्व, ५ करोड रहेको थियो ।
- चालु आर्थिक वर्षको ५ महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्व, ७६ करोड अमेरिकी डलर रहेको छ । गत वर्षको यसै अवधिमा १३ अर्व ३१ करोड अमेरिकी डलर रहेको थियो।
- अघिल्लो वर्षको तुलनामा ५ महिनाको कर्जा बृद्धि ४६ अर्बले बढी छ ।