यूएस–एडको मुख्यालय बन्द, संसारलाई के फरक पर्ला ?

काठमाडौँ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्ट (यूएस–एड)को भविष्य अब ‘अन्धकारमय’ भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त एजेन्सी बन्द गर्ने निर्णयमा हस्ताक्षर गरेको भनेर सांसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
वासिङ्गटन स्थित यूएस–एडको मुख्यालय सोमबार दिनभर बन्द गरिएको थियो । कर्मचारीहरुलाई ‘घरमै बस्न’ इमेलमार्फत् भनिएको थियो । भवनको भित्तामा टाँसिएका लोगो र तस्वीरहरुलाई हटाइएको थियो ।
यसको वेवसाइट र सामाजिल सञ्जालका खाताहरु बन्द गरिएको छ र यूएस–एडको वेवपेजको संक्षिप्त संस्करणलाई अमेरिकी स्टेट डिपार्टमेन्टको वेवसाइटमा राखिएको छ ।
अमेरिकी संसद (कांग्रेस)ले एक स्वतन्त्र निकायको रुपमा स्थापित गरेको यस एजेन्सीलाई राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले ‘पक्षपाती’ भनेका छन् । विपक्षी दल डेमेक्र्याटले उक्त भनाइको खण्डन गर्दै यस एजेन्सीको अन्त्य गर्ने अधिकार ट्रम्पलाई नभएको भनेको छ ।
तर विधायक र कर्मचारीहरु पनि यूएस–एडलाई पूर्ण रुपमा बन्द गर्न तथा यसलाई विदेश मन्त्रालयको मातहत ल्याउने कुरामा सहमत देखिन्छन् । यो घटनाक्रम इलोन मस्कले आफ्नै सामाजिक सञ्जालमा दिएको एक वक्तव्यपश्चात् विकास भएजस्तो देखिने भनेर सीएनएनले लेखेको छ ।
मस्कले सोमबार विहान ‘एक्स स्पेसेस’सँगको वार्तामा भनेका थिए, ‘यूएस–एडको मामिलामा मैले (राष्ट्रपतिसँग) विस्तृतमा छलफल गरेको छु र उहाँ यस कुरामा सहमत हुनु भयो की, हामीले यस (यूएस–एड)लाई बन्द गरिदिनु पर्छ ।’
राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरुसँगको प्रश्नोत्तरमा उक्त एजेन्सी र विदेशी सहायता प्रदान गर्ने उसको ‘मिसन’ आफूलाई चित्त नबुझेको बताएका छन् । सीएनएनका अनुसार ट्रम्पले पत्रकारहरुसामु भनेका थिए– ‘यो एजेन्सी केही कट्टरपन्थी पागलहरुले चलाइरहेका छन् । हामी उनीहरुलाई बाहिर निकाल्छौँ । त्यसपछि बल्ल यसको भविष्यको बारेमा निर्णय गरौँला ।’
राती अबेर राष्ट्रपतिले यस्तो भनेपछि मध्येरात कट्नासाथै कर्मचारीहरुलाई इमेल पुग्यो, त्यसमा ‘वासिङ्गटन कार्यालयमा हाजिर नहुन’ भनिएको थियो ।
यसअघि ९० दिनका लागि विदेशी सहायता रोक्ने राष्ट्रपतिको आदेश पालना गर्न अस्वीकार गरेको भनेर यूएस–एडका करीब ६० जना बरिष्ठ अधिकारीलाई बिदामा राखिएको थियो । त्यसबाहेक कनिष्ठ कर्मचारीहरुलाई पनि बिदामा राखिएको र छोडेर जान चाहनेलाई बिदाइ गरिरहेको थियो ।
गत शनिबार नै यूएस–एडको वेवसाइट बन्द गरिएको थियो भने विदेश मन्त्रालयको वेवसाइटमा उक्त एजेन्सीको एक पेज देखिएको थियो । सामाजिक सञ्जाल एक्समा रहेको यूएस–एडको खाता पनि शनिबारदेखि नै बन्द भएको छ ।
एजेन्सीको सार्वजनिक मामिला कार्यालयका सबै कर्मचारीलाई बिदामा बस्न भएिको थियो र उसको सबै प्रणालीहरु ‘लक’ गरिएको थियो ।
यसअघि मस्कले युएस–एडलाई एक ‘आपराधिक संगठन’ भन्दै ‘अब यो मर्ने बेला आयो’ भनेर एक्समा लेखेका थिए । अर्को पोस्टमा उनले ‘अब यसको मर्मत असम्भव भएको’ लेखेका थिए ।
के हो युएस–एड ?
अमेरिकामा सन् १९६१ मा जोन अफ केनेडी प्रशासनले अमेरिकी सरकारको एक मावनीय सहायता संस्था वा शाखाका रुपमा युएस–एडको स्थापना गरेको थियो । यस संस्थाले गरिबी, महामारी, प्राकृतिक प्रकोप र अकाल मृत्युलाई कम गर्न संसारभर लगानी गर्दै आएको थियो ।
यसले हरेक साल खर्च गर्ने अर्बौं डलरले संसारभरका गैह्रसरकारी संस्थाहरु पोषित थिए भने स्वतन्त्र सञ्चारमाध्यम र सामाजिक पहलकदमीमार्फत् लोकतन्त्रलाई बलियो पार्नमा सघाइरहेको ठानिन्थ्यो ।
उक्त अमेरिकी संस्थाले कुन कुन देशमा गरिरहेको थियो लगानी ?

युएस–एडका पूर्व प्रशासक एन्ड्र्यु नेट्सियोसले सन् २०२० मा लेखेका थिए– सोभियत संघका साथ भएको शितयुद्धको दौरान अमेरिकालाई सफलता दिलाउन एजेन्सीले महत्वपूर्ण योगदान गरेको थियो ।
उक्त एजेन्सी बन्द हुनुअघि यो संसारकै सबैभन्दा ठूलो ‘एकल दाता’ थियो । उसले आर्थिक वर्ष २०२३ मा संसारभर ७२ अर्ब अमेरिकी डलर सहायता बाँडेको थियो । त्यो पैसा महिलाको स्वास्थ्य, स्वच्छ पानी, एचआईभी/एड्सको उपचार, ऊर्जा सुरक्षादेखि भ्रष्टाचार विरोधी कार्यक्रमहरुसम्म खर्च भएको थियो ।
२०२३ को आर्थिक वर्षमा युएस–एडबाट सबैभन्दा धेरै पैसा युक्रेनले पाएको थियो । संसारभर खर्च भएको ७२ अर्बमध्ये १४.४ अर्ब डलर युक्रेनमा मात्रै खर्च भएको थियो । जोर्डनमा ७७ करोड, यमनमा ३५ करोड ९९ लाख र अफगानिस्तानमा ३३ करोड २० लाख डलर खर्च भएको थियो ।
विदेशी सहायता वितरण गर्ने यो सबैभन्दा ठूलो अमेरिकी एजेन्सी हो । यसबाहेक अमेरिकी विदेश विभाग (मन्त्रालय)ले पनि युएस–एडको करीब आधा पैसा संसारभर वितरण गर्छ ।
यद्यपि, क्युबा, मेक्सिकोजस्ता देशले आफ्नो वैधानिक सरकारको विरुद्ध गुप्त रुपमा षडयन्त्र बुन्न वा सरकार विरोधी तत्वहरुलाई वित्तपोषण गर्नमा यस अमेरिकी एजेन्सीले काम गरेको आरोप लगाएका थिए । नेपाल, भारतमा पनि जनस्तरमा यस्ता तर्कहरु बाक्लै सुनिन्छ, तर सरकारले यस प्रकारको भाष्य सिर्जना गर्नमा काम गरेको छैन ।
जे होस्, १० हजारभन्दा धेरै कर्मचारी भएको उक्त एजेन्सीलाई अमेरिकाले विश्वभर जनस्तमा सम्बन्ध विस्तार गर्ने प्रमुख ‘सफ्ट–पावर’को रुपमा अघि सारेको थियो । लामो समयदेखि उसले आफ्नो राष्ट्रिय सुरक्षाका निम्ति तीन ‘डी’ अर्थात् रक्षा (डिफेन्स), कूटनीति (डिप्लोमेसी) र विकास (डेभलपमेन्ट)को तीन खम्बे बाटो अवलम्बन गरेको थियो ।
यी तीन रणनीतिको नेतृत्व अमेरिकी रक्षा मन्त्रालय, विदेश मन्त्रालय र युएर–एडले गर्दै आएका थिए । तर अब यसलाई विदेश मन्त्रालयको मातहत लगिएपछि ट्रम्प प्रशासनले पुनः नयाँ संस्था खडा गर्छ की अन्तरराष्ट्रिय सहायताको स्वरुप नै बदल्छ भन्ने स्पष्ट छैन ।