लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) चयनका लागि नयाँ आवेदन माग गरिएको छ।
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को व्यवस्था अनुसार आज एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको हो।
यो पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ अथवा विकास सम्बद्ध विधामा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
शैक्षिक योग्यताका साथै आवेदकको परियोजना विकास, सार्वजनिक खरिद प्रक्रिया, सार्वजनिक–निजी साझेदारी (पीपीपी), लगानी प्रवर्धन, बैंकिङ क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्ने सूचनामा स्पष्ट पारिएको छ।
दरखास्त हाल्ने अन्तिम दिनसम्म उम्मेदवारको उमेर न्यूनतम ३५ वर्ष पूरा भएको र ६५ वर्ष नकटेको हुनुपर्ने प्रावधान राखिएको छ।














