सरकार र निजी क्षेत्रबीचको टुटेको सेतु फेरि जोडियो, अन्योलको वातावरण चिरिएको प्रतिक्रिया « Arthapath.com
२४ असार २०८३, बुधबार

सरकार र निजी क्षेत्रबीचको टुटेको सेतु फेरि जोडियो, अन्योलको वातावरण चिरिएको प्रतिक्रिया



पुरानो सत्ता र राजनीतिक नेतृत्वसँग सघन सम्बन्ध रहेको निजी क्षेत्रले नयाँ सरकारसँग भने औपचारिक नाता गाँस्न सकेको थिएन । राजनीति र अर्थतन्त्रबीचको सम्बन्धले पुन: आकार ग्रहण (रिशेपिङ) गर्न आजको भेटघाट खुबै फलिभूत भएको महसुस निजी क्षेत्रले गरेको छ ।

काठमाडौँ । जेनजी आन्दोलनपछि उदाएको राज्यसत्ता र देशका उद्योगी व्यवसायीबीचको नयाँ ‘सेतु’ तयार भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो १०० दिन नाघेपछि पहिलो पल्ट निजी क्षेत्रका प्रतिनिधीलाई बोलाएर विस्तृत छलफल गरेपछि विगतदेखिको यो अन्योल ‘धेरै हदसम्म चिरिएको’ प्रतिक्रिया व्यवसायीले दिएका छन् ।

फेरिएको राजनीतिक समिकरण र निजी क्षेत्रबीच ‘सुमधुरी’ सम्बन्धी स्थापित हुन नसक्दा कयौँ अड्चनहरु आएका थिए । सरकारले सहजिकरण गर्ने भन्दा पनि तर्साउन ज्यादा प्रयत्न गरेको भनेर व्यवसायीहरुले देशबाट पैसा बाहिर लाने क्रम व्यापक बनाएका बेला प्रधानमन्त्रीले यस्तो बैठक डाकेका हुन् ।

उक्त बैठकमा प्रधानमन्त्री शाहले निकै खुल्ला संवाद गरेको भनेर उद्योगी व्यवसायीहरु हर्षित बनेका छन् । निजी क्षेत्रका तीन वटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका २–२ जना प्रतिनिधीलाई बोलाएर प्रधानमन्त्रीले छलफल गरेका थिए ।

बुधबार दिउँसो ११:३० का लागि बोलाइएको बैठक ११:३७ तिरबाट सुरु भयो । करीब दुई घण्टा छलफल चल्यो । छलफलको सुरुमै प्रधानमन्त्रीले करीब २५ मिनेटसम्म आफ्ना कुरा राखे । त्यसपछि तीन वटै संस्थाका अध्यक्षहरुको कुरा सुने । तेस्रो ‘राउण्ड’मा ती संस्थाका अन्य प्रतिनिधीको कुरा पनि सुने ।

यसलाई व्यवसायीले ‘एउटा ठूलो उपलब्धी’ मानेका छन् । ‘निजी क्षेत्रमा एक किसिमको अन्योलको वातावरण थियो । त्यसलाई धेरै हदसम्म आजको बैठकले चिरेको छ’, बैठकमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले भने ।

उक्त छलफलमा हालै व्यवसायीहरुमाथि भएका धरपकडका घटना, निजी क्षेत्रले पनि सम्पत्ति विवरण बुझाउनु पर्ने विषय, उद्योगको जग्गालाई लाग्ने हदबन्दी, वैदेशिक रोजगार व्यवसायमा देखिएको नि:शुल्क भिसा र टिकटको कडाईले निम्त्याएका समस्या, सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनको दुरुपयोगदेखि हिजोमात्रै सार्वजनिक भएको नयाँ मौद्रिक नीतिका विषयसम्म विस्तारित गफ भएको व्यवसायीले बताएका छन् ।

शंकाको भरमा मान्छे थुन्दैनौ: प्रधानमन्त्री

प्रधानमन्त्री शाहले निजी क्षेत्रको मनोबल उकास्न र देशलाई समृद्ध बनाउन सरकार सबै खाले सहकार्य गर्न तत्पर रहेको बताएका छन् । हालसालै भएका व्यवसायीमाथिका धरपकडको विषयलाई लिएर उनले शंकाको भरमा कसैलाई पनि नथुनिने वाचा गरेका छन् ।

‘कसैलाई पनि प्रतिशोधको भावना राख्ने र नियत बस समात्ने हाम्रो काम पनि होइन र हामी त्यसो गर्दैनौँ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागी एक व्यवसायीले भने, ‘अपराध गर्नेहरुलाई त पहिले पनि समातेकै थियो । अहिले नसमात भन्ने कुरा आउँदैन । तर त्यत्तिकै शंकाको भरमा मान्छे लगेर थुन्ने काम हामी गर्दैनौँ । ढुक्क हुनुस् ।’

प्रधानमन्त्रीसँगको छलफलमा महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठ, परिसंघबाट निवर्तमान अध्यक्ष राजेश अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्