मागेर खान नपाएकालाई बिर्यानी « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

मागेर खान नपाएकालाई बिर्यानी



काठमाडौं । विराटनगर महानगरपालिकाभित्रको सडकमा मागी खानेहरुले आजबाट खान पाएका थालेका छन्। कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि सडकमा आश्रय लिनेहरुले मागेर खान पाएका थिएनन्।

मंगलबारबाट विराटनगरका सहयोगी युवाहरुले सडकमा आश्रय लिएर बसेकाहरुलाई बिर्यानी बाँडेका छन्।

पेरिस सुवेदीको नेतृत्वमा युवाहरुले महानगरको सडकमा आश्रय गरेर बसेका ९६ जनालाई बिर्यानी बाँडेका हुन्। खाना पकाएर प्याक गरी २ वटा स्कुटरमा चार जनाले महानगरभरि सडकमा आश्रय लिएर बसेकाहरुलाई खाना बाँडेको पेरिस सुवेदीले बताए। उनले यो अभियानले निरन्तरता पाउने बताए। उनले भने, ‘हामी केही युवाहरु मिलेर यो अभियान सुरु गरेका छौ। यो अभियान निरन्तर चल्छ।’

अभियानमा पेरिसका अतिरिक्त विराटनगरका युवाहरु भवेश पौडेल, दीपेन्द्र मरिक, चिरञ्जीवी आचार्य, गोपाल देवकोटा र पप्पु अन्सारी सहभागी छन्। युवाहरुले गुद्री, मधुमारा, सरौचिया, बरगाछी, कञ्चनबारी, रोडशेष चोक लगायतका स्थानमा पुगेर विर्यानी बाँडेका थिए। सुवेदीले सडक आश्रय लिएर बसेकाहरुलाई भने, ‘आज जुन–जुन स्थानमा बाँडिएको छ, त्यही स्थानमा बस्नुहोला। बिहान नौ बजेबाट खाना बाँडिन्छ।

जोखिम भने कायमै

खानाको प्रबन्ध भए पनि सडकमा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य जोखिम भने धेरै रहेको देखिएको छ। सडकमा आश्रय लिएर मागी खानेहरु धेरैजसो बिरामी देखिएका छन्।

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेर सर्वसाधारणलाई बाहिर निस्कन दिएको छैन। तर सडकमा आश्रय लिएकाहरुको बारेमा भने केही सोचिएको छैन। खाना बाँड्ने अभियानमा रहेका सुवेदीले उनीहरु एक स्थानबाट अर्को स्थानमा जाने भएकाले कोरोना संक्रमणको जोखिम भने कायमै रहेको बताए।

उनीहरुलाई उचित स्थानमा राख्न पाए खानेकुराको प्रबन्ध हामी गर्छौ। सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने उनले बताए। नेपालन्युज


प्रतिक्रिया दिनुहोस्