वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ घर फिर्ता « Arthapath.com
३० चैत्र २०७६, आईतवार

वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ घर फिर्ता



सुर्खेत। वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना सङ्क्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना सङ्क्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो ।

खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिनुभयो । नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए । क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।

क्वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुशी भएका थिए । सुर्खेतको चौकुने गाउँपालिका–७ का केशव विकले क्वारेन्टाइन बसाइ राम्रो भएको बताउनुभयो । “शुरुशुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो”, उहाँले भन्नुभयो, अब त गाउँ जाँदा पनि ढुक्क भइयो ।” नेपाल भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

दैलेख, दुल्लु नगरपालिकाकी विष्ना बिष्टले कोरोनाको त्रास हटेको बताउनुभयो । “भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशङ्का मेटियो, अब ढुक्क भइयो”, उहाँले भन्नुभयो । उहाँ भारतको सुरतबाट आउनुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्