सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ « Arthapath.com
१ बैशाख २०७७, सोमबार

सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ



सप्तरी । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘(यापिड डाइग्नोस्टिक टेस्ट’ विधिबाट द्रुत परीक्षण शुरु भएको छ ।

क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ ।

हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

सरकारले ‘¥यापिड टेष्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण शुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा ‘¥यापिड टेस्ट’ विधिको प्रयोग शुरु गरिएको छ ।

अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण शुरु भएको जनाउँदै प्रमुख मेसु डा दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४औँ दिन परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ ।रासस


प्रतिक्रिया दिनुहोस्