डोटीका ३३० जनाको स्वाब रिपोर्ट नेगेटिभ « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

डोटीका ३३० जनाको स्वाब रिपोर्ट नेगेटिभ



डोटी । जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाब सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले जानकारी दिए । उनले भने “क्वारेन्टाइनमा रहेकाहरु सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको छ, रिपोर्ट नेगेटिभ भएपनि सबैले सावधानी चै अपनाउनु पर्ने देखिन्छ ।”

उनका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

स्वाव सङ्कलनपछि परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणका बिरामी थपिदै जान थालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताए। उनले भने “सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ, सबैले सावधानी अपनाउनु पर्ने बेला आएको छ ।” रासस


प्रतिक्रिया दिनुहोस्