दुई महिनापछि कुखुराको मासु अभाव हुने निश्चित,कुखुरा व्यवसायीद्वारा राहत माग « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

दुई महिनापछि कुखुराको मासु अभाव हुने निश्चित,कुखुरा व्यवसायीद्वारा राहत माग



भरतपुर । कुखुरा उत्पादक तथा व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासङ्घले नेपालमा आत्मनिर्भर भएको पोल्ट्री क्षेत्र इतिहासकै विषम र भयावह अवस्थामा रहेको उल्लेख गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री धनश्याम भुसाललाई ज्ञापनपत्र बुझाउँदै कुखुरापालन अत्यावश्यक र संवेदनशील क्षेत्र भएकाले पोल्ट्री क्षेत्रको पुनस्र्थापना गर्नका लागि विशेष राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।

मन्त्रीलाई बुझाइएको ज्ञापनपत्र महासङ्घले बिहीबार भरतपुरमा सार्वजनिक गर्दै तत्काल राहतका कार्यक्रम दिन नसकिए पोल्ट्री क्षेत्र कहिल्यै उठ्न नसक्ने दाबी पनि गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण योगदान दिएको कुखुरापालन व्यवसायलाई थप धराशयी हुन नदिन, अर्बौंको पुँजी पलायन हुनबाट रोक्न र लाखौँ रोजगारी गुम्न नदिन यो क्षेत्रको पुनस्र्थापना गर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । ’

कुखुरापालन क्षेत्रमा विगत दुई वर्षदेखि बर्डफ्लुले क्षति पु¥याएको, कच्चापदार्थको अत्यधिक मूल्यवृद्धि, कमजोर उत्पादनलगायतका कारणले गर्दा व्यवसाय नै धराशयी भएको अवस्थामा कोभिड १९ को नकारात्मक असरले गर्दा नेपाल पोल्ट्री महासङ्घअन्तर्गतका कुखुराजन्य उद्योग तथा व्यवसाय पूर्णतया ध्वस्त भएको अवस्था छ, महासङ्घले ज्ञापनपत्रमा भनेको छ ।

कोरोना सङ्क्रमणको महामारीबाट पोल्ट्री क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकारको राहत कार्यक्रमले मात्रै हुने निष्कर्ष व्यवसायीको छ । महासङ्घले ह्याचरी तथा कुखुरापालन क्षेत्रलाई बन्दाबन्दीको समयदेखि नै आगामी एक वर्षसम्मको बैङ्क ब्याज मिनाहा गर्न माग गरेको छ ।

यस्तै बन्दाबन्दी खुलेको एक वर्षपछि पनि बैङ्क किस्ता सिफोनिङ प्रक्रियाबाट भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, ऋणलाई दस वर्षका लागि ५ प्रतिशतमा नबढाई बैङ्क ब्याजदर कायम गराउनुपर्ने, चालू पँुजीमा पुनर्कर्जा दिने व्यवस्था गर्नपर्ने, दाना उद्योग, पशुपक्षी औषधि उद्योग, पशुपक्षी औषधि पैठारीकर्ता र व्यवसायी, कोल्डस्टोरलाई ऋणको पुनः तालिका गरी बन्दाबन्दी खुलेको एक वर्षपछि भुक्तानी तालिका सुरु हुने व्यवस्था गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

साना कुखुरापालक किसानलाई पुनस्र्थापना गराउनका लागि चल्ला अनुदानमा दिनुपर्ने, बिजुलीमा ५० प्रतिशतको छुट दिनुपर्ने, अत्याधुनिक नयाँ कुखुरा फार्म स्थापना गर्न प्रोत्साहनका लागि अनुदानको व्यवस्था, भारत तथा तेस्रो मुलुकबाट कुखुरापालन तथा दाना उद्योगले पैठारी गर्ने अत्यावश्यक दानाको मुख्य कच्चा पदार्थ मकै तथा भटमास पिनामा लागेको कृषि सुधार शुल्क तथा भन्सार शुल्क सबै पूर्ण रूपमा हटाउनुपर्ने माग महासङ्घको छ ।

महासङ्घका अनुसार नेपालमा अहिले तीन करोड ५० लाख कुखुरामध्ये एक करोड ४५ लाख लेयर्स, ६२ लाख ५० हजार माउ, अण्डा दैनिक ५० लाख गोटा अण्डा र नौ लाख ५० हजार केजी मासु प्रतिदिन उत्पादन भइरहेको छ । नेपालमा अहिले तीन हजार पाँच सय मेट्रिक टन दाना हरेक दिन खपत हुन्छ भने हप्तामा एक दिने चल्ला ५० लाख उत्पादन भइरहेको छ । पोल्ट्री क्षेत्रमा करिब रु। एक खर्ब ५० अर्बको लगानी रहेको र अलिहेको अवस्थामा दैनिक २२ करोड ५० लाख रुपियाँको हाराहारीमा प्रत्यक्ष नोक्सानी भइरहेको कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले जानकारी दिनुभयो ।

मकवानपुरका व्यवसायी निराश
लकडाउन लम्बिँदै जाँदा कुखुरापालक किसान निराश बन्दै छन् । मकवानपुरमा हाल एक हजार पाँच सय किसानले व्यावसायिक रूपमा कुखुरापालन गरिरहेको मकवानपुर कुखुरा व्यवसायी सङ्घले जनाएको छ ।

लकडाउनका बेला आधारभूत वस्तुको आपूर्ति र खपत व्यवस्थित र लकडाउन कार्यान्वयन गर्न गठित जिल्लास्तरीय कमान्ड पोस्टले मकवानपुरमा जिउँदो कुखुराको मूल्य १२५ प्रतिकेजी तोकेको छ । यद्यपि कुखुराको लागत नै प्रतिकेजी १८५ रुपियाँ पर्ने अध्यक्ष राजु अधिकारीले बताउनुभयो ।
१८० रुपियाँ लागत पर्ने कुखुराको मासु १५० मा बेच्न पाउँ भनेर रोइकराइ गर्दा कालोबजारी गरियो भनेर आरोप लगाए, कुखुरा व्यवसायी एवं मकवानपुर कुखुरा व्यवसायी सङ्घका उपाध्यक्ष प्रतिमा श्रेष्ठले भन्नुभयो । किसानको सहुलियतका लागि बोलिदिने निकाय नभएकाले व्यवसायी निराश बनिरहेको र पीडा सुनाउनसमेत छाडिएको श्रेष्ठले बताउनुभयो ।

सङ्घले केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा कुखुरापालक किसानका लागि राहत र सुविधा उपलब्ध गराउन र बैङ्क व्याज मिनाहा गर्नका लागि पहल गरिदिन ज्ञापनपत्रसमेत बुझाएको थियो । किसानहरूले जिल्लामा मौज्दात रहेको १५ लाख कुखुरा अत्यन्तै सस्तोमा बिक्री गरेर अहिले करिब पाँच लाखमा घटाइएको अध्यक्ष अधिकारीले बताउनुभयो । वैशाख महिनासम्म जसोतसो कुखुराको मासु पाइएला, अध्यक्ष अधिकारीले भन्नुभयो, राहत सुविधा नदिने हो भने अबको दुई महिनापछि कुखुराको मासु अभाव हुने निश्चित छ ।

प्रदेश २ सरकारले कुखुरापालक किसानलाई प्रतिगोटा १२५ का दरले दाना खुवाउन खर्च दिएको, ब्याज मिनाहा गरेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष अधिकारीले बाग्मती प्रदेश सरकारले पनि यथाशक्य छिटो यस्तो व्यवस्था गर्नुपर्ने सुझाउनुभयो ।

मकवानपुरमा १४ महिनाअघिको बर्डफ्लुबाट घाटा लागेपछि ५० प्रतिशत कुखुरा व्यवसायी विस्थापित भएका थिए । कोरोनाका कारण बाँकी व्यवसायी पनि पूर्ण रूपमा घाटामा जाने र मकवानपुरमा पोल्ट्री व्यवसाय नै नरहने अवस्था आउन सक्ने अध्यक्ष अधिकारीले बताउनुभयो । अहिले व्यवसायीलाई ढाडस दिएर चल्ला र दाना किन्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ, अध्यक्ष अधिकारीले भन्नुभयो, अन्यथा अबका केही महिनापछि कुखुराको मासु अभाव हुने, मासु अत्यन्तै महँगो पर्नसक्ने छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्