कोरोनाको कहर चर्को घर फर्कनेको लर्को, हेर्नुहोस्( फोटोसहित) « Arthapath.com
१० बैशाख २०७७, बुधबार

कोरोनाको कहर चर्को घर फर्कनेको लर्को, हेर्नुहोस्( फोटोसहित)



काठमाडौँ । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो¥याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए ।

पाँच हजारभन्दा बढी मानिस घर जानका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म लामबद्ध थिए । भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक सबिन प्रधानले भने सामाजिक दूरी कायम गरी घर जान आग्रह गर्नुभएको थियो । “सबै घर जान पाउनुहुन्छ, नआत्तिईकन जानुस्, तपाईंहरूकै लागि हो” भन्दै उहाँ सबैलाई सम्झाउँदै हुनुहुन्थ्यो । बन्दाबन्दीका कारण मजदुरलाई धेरै गाह्रो भएको प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मानिसको भीडले सामाजिक दूरी कायम गर्न पनि हम्मे भएको छ । ५० देखि ६० वटा गाडी छन् होला, सबैलाई मिलाएर घर पठाउँछौँ । ”

यो भीड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडीबुटी क्षेत्रमा पुगेको थियो । पाँच महिनाको दुधे बालक बोक्दै भीडमा पुग्नुभएका ललिता थामी भन्दै हुनुहुन्थ्यो, “दोलखा हिँडेको, गाडी त आउँछ होला नि । आएन भने तनाव हुन्छ । ”

उहाँलाई गाडी कति बेला आउँछ भन्ने थाहा थिएन । तर स्थानीय जनप्रतिनिधिले नै भनेकाले आउँछ होला भन्ने विश्वास थियो । “हामीलाई त वडाध्यक्षले लोकन्थलीमा गाडी आउँछ, जानू भन्नुभएको हो”, रामेछापका प्रवीणकुमार मगरले भन्नुभयो, “साँझ ७ बजेसम्ममा आइपुग्छ भनेको हो । ” लोकन्थली क्षेत्रमा पुग्नेमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका बासिन्दा थिए । रोजगारी तथा अध्ययनका लागि काठमाडौँमा बस्दै आएका उहाँहरू बन्दाबन्दी लम्बिएपछि घर फर्किन चाहे पनि गाडी नपाएर रोकिनुभएको थियो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्