अलपत्र यात्रु बोकेर हिँडेको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु « Arthapath.com
१३ बैशाख २०७७, शनिबार

अलपत्र यात्रु बोकेर हिँडेको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु



जनकपुरधाम । काठमाडौँबाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिबासमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लकडाउनका कारण अलपत्र परेका व्यक्तिहरुलाई उदयपुर लैजाने क्रममा शनिबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित पाटुमा बस पल्टिँदा बसका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

दोलखाको तामाकोसी २ का २४ वर्षीय बसका सह–चालक बाबुराम विकको घटना स्थलमै मृत्यु भएको र २२ वर्षीय प्रदीप विक गम्भीर घाइते रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

बसमा ३५ जना सवार थिए । उनीहरुलाई अर्को बसको व्यवस्था गरी उदयपुर पठाइएको बुढाथोकीले जानकारी दिए ।

लकडाउनको कारण काठमाडौँमा फसेका उदयपुरका ३५ जनालाई बोकेर हिँडेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटनामा परेको हो ।रासस


प्रतिक्रिया दिनुहोस्