लकडाउनमा अभिभावकलाई सुझाव « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

लकडाउनमा अभिभावकलाई सुझाव



बाबुकाजी कार्की, कोरोना भाइरसको लकडाउनका कारण विश्वका करोडौँ बालबालिकाको पठनपाठन ठप्प भएको छ । शिक्षण संस्था लामो बिदाका कारण विद्यार्थी एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न–चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र २४सै घन्टा सीमित गर्दा छटपटी र बेचैनी बढ्नु स्वाभाविकै हो । यसबाट उनीहरूमा शारीरिक तथा मानसिक तनाव र अन्योल आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रोसँग भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ । अहिलेको जोखिमयुक्त विषम परिस्थितिमा बालबालिकालाई त्रस्तभन्दा पनि स्वस्थ, व्यस्त राख्ने प्रयास गर्नु बुद्धिमानी ठहर्छ ।

भनिन्छ, बालबालिकाको पहिलो स्कुल घर र पहिलो शिक्षक बाबुआमा नै हुन् । यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कुल नखुलुन्जेलका अबका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नलाई बुद्धि, विवेक देखाउनुपर्ने भएको छ । पढाइ हँुदा पनि बालबालिकाले दिनमा ६ घन्टा मात्र स्कुल र बाँकी १८ घन्टा घरपरिवारमा नै बिताउँथे । अहिले अनिश्चितकालीन लकडाउनका कारण २४ घन्टा अभिभावकको जिम्मामा छन् । अघिपछि आमाबुबा रोजगारीमा जाँदा लामो समय सँगै बस्न नपाएका साना उमेरका बालबालिका २४सै घन्टा सँगै बस्न पाउँदा मख्ख त परेकै हुन्छन् । अलि ठूला उमेरका खासगरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घरभित्रै बसिरहँदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिडचिडाउनेजस्ता मनोवैज्ञानिक समस्या देखिन्छन् । घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्नेजस्ता समस्या देखिन सक्छन् । तिनीहरूलाई विद्यालय नखुलुन्जेल कस्तो शिक्षा र सीप दिने भन्नेबारे अभिभावकको चिन्ता र चासो बढेको छ । बालबालिकाको उमेरगत शारीरिक तथा मानसिक विकासमा विभिन्नता भएअनुसार उनीहरूको रुचि, क्षमता र आवश्यकता पनि फरकफरक हुन्छ नै । यस्ता विभिन्नतालाई सम्बोधन गर्न अभिभावकलाई सहज छैन । तथापि यनकेन तत्काल सरकार र सरोकार पक्षले सूचना प्रविधिका विभिन्न माध्यमबाट अभिभावकलाई सहयोग गर्नुपर्ने खाँचो देखिन्छ ।

बालबालिका विद्यालयमा रुटिनअनुसार पठनपाठन र अतिरिक्त क्रियाकलापमा अभ्यस्त भइराखेकाले घरमा गरिने उल्लिखित क्रियाकलाप समयतालिका बनाएर नै गर्दा प्रभावकारी हुन्छ । व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वच्छ दैनिकी र उपयुक्त आराम र निद्राले बालबालिकामा स्फूर्ति बढाउँछ । त्यस्तै, बालसाहित्य पढ्ने, उनीहरूले तयार गरेका चित्र, लेखरचना आदि बाल पत्रपत्रिकामा छाप्न पठाउनाले आत्मबल र प्रतिस्पर्धाको ल्याकत विकास गराउन टेवा पुग्छ । छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनीहरूको जिज्ञासालाई सावधानीपूर्वक सम्बोधन गर्ने, विभिन्न कथा र अनुभवहरू सुनाउने, अन्तरक्रिया गर्ने, विकल्पहरूमा छलफल गरेर निर्णय गर्ने, निष्कर्षमा पुग्ने, प्रशंसा गर्ने, आदर, सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्कारको विकासतर्फ पनि अभिभावकले हेक्का राख्न बिर्सिनुहुन्न ।

अहिले बालबालिकाबारे अभिभावकको गुनासो भनेकै धेरैबेर टीभी र मोबाइलमा झुन्डिने, अराएको नटेर्ने आदि पर्दछन् । यस्तो अवस्थामा मोबाइल, टिभीकै प्रयोगबाट उनीहरूमा विषयगत र व्यावहारिक ज्ञान सिकाउने उपायहरू खेजिनुपर्दछ । वेबसाइट तथा युट्युबहरूमा बालबालिकाले अध्ययन गरिराखेका विषयवस्तुसँग सम्बन्धित विषयहरू प्रशस्त पाइन्छन् । तिनीहरूलाई पहिला आपूmले खोजेर वा सक्षम भए उनीहरूलाई खोज्न लगाएर अध्ययन र जानकारी लिन लगाउन सकिन्छ । वेबसाइटमा भएका कतिपय प्रख्यात भौगोलिक एवम् पर्यटकीय स्थान परिचय, वैज्ञानिक आविष्कार, ऐतिहासिक घटनाहरू हेर्न लगाएर तिनीहरूबारे प्रश्न दिएर उत्तर लेख्न लगाउन सकिन्छ । त्यस्तै गीत, नृत्य, वक्तृत्वकला, सामान्यज्ञान सिक्ने माध्यमको रूपमा पनि मोबाइलको उपयोग गर्न सकिन्छ । उनीहरूको रुचिअनुसार रचनात्मक, सिर्जनात्मक कामहरूमा व्यस्त हुन पाउँदा बालबालिका रमाउने हुन्छन् । चित्र बनाउने, रंग भर्ने, म्याजिक कोठाहरू भर्ने, हिज्जे मिलाउने, विभिन्न आकार र प्रकारका वस्तुहरू चिन्ने बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने, अभ्यास आदि गराएर पुरस्कार र प्रशंसास्वरूप चकलेट, लेखेको कपीमा मूल्यांकनस्वरूप अङ्क प्रदान गरेर, परिवारमा एकभन्दा बढी केटाकेटी भए आपसमा प्रतिस्पर्धा गराउँदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउँछन् ।

कोरोना भाइरस (कोभिड— १९)को विश्वव्यापी महामारीको कारण अहिले सर्वत्र आशङ्का, अस्तव्यस्तता र अन्योल छाएको छ । कोरोना सङ्क्रमणलाई निस्तेज पार्न अनेकौँ उपाय अभ्यास भइराखेका छन् । भाइरस रोकथामका लागि स्वास्थ्यसम्बन्धी सूचना र टिप्सहरू सञ्चारमाध्यममा बग्रेल्ती छाएका छन् । उपचारका औषधिहरू पत्ता नलागेको यस अदृश्य शत्रुलाई परास्त गर्न रोकथामबाहेक अन्य प्रभावकारी विकल्प भेटिएको छैन । कोरोना सङ्क्रमणलाई निस्प्रभावी पार्न मानव सम्पर्कलाई यथाशक्य न्यून गर्नु र सङ्क्रमितलाई आइसोलेसनमा राख्नु नै रोकथामको उत्तम उपाय मानिएको छ । मानिसहरूबीचको सम्पर्कबाट एक–अर्कामा तीव्र रूपमा सजिलै सर्ने भाइरसको शृङ्खला तोड्न विश्वका अधिकांश मुलुकले लकडाउन घोषणा गरेका छन् । प्राणघातक भाइरसबाट बच्न अपनाइएको लकडाउनका कारणबाट बालबालिकालगायत सबै उमेर र पेसाका जनसमुदायलाई सकस पर्नु अन्यथा होइन ।

कोरोना सङ्क्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द गरेर सरकारी निकाय बेखबर रहनु दुःखद हो । बिदामा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि पाठ्यक्रममा आधारित आवश्यक स्वध्यायन सामग्री उत्पादन र प्रचारप्रसारका लागि सरकारी निकाय, शिक्षकका पेसागत सङ्घसङ्गठन, संस्थागत विद्यालयका सञ्चालकका छाता संस्था प्याब्सन, एनप्याब्सन तथा शिक्षा क्षेत्रमा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी सङ्घसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेकलाग्दो छ । विद्यालय तहमा अध्ययनरत मात्रै झन्डै ८० लाख बालबालिकाको लागि अभिभावक र सीधै विद्यार्थीलाई समेत सहयोग पु¥याउने उपायको सरकार र सरोकार पक्षले तत्काल खोजी गरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नुहुन्न ।

घरमा बसेका बालबालिकाका लागि अहिले जीवनोपयोगी शिक्षा सिकाउने अवसरको रूपमा अभिभावकले लकडाउनको सदुपयोग गर्न सक्छन् । असल संस्कार र संस्कृति सिकाउने मौकाको रूपमा सदुपयोग गरिनुपर्दछ । हाम्रा पूर्वजहरूले स्कुल नगईकन समाजमा असल नागरिकको पहिचान बनाएको जगजाहेर नै छ । विद्यालयमा पढाइ हुने पाठ्यक्रमले तोकेका विषयवस्तुका अतिरिक्त अन्य धेरै कुरा बालबालिकाले अरूको चालचलन, बानी, व्यवहार हेरेर सिक्दै आएका हुन्छन् । यसरी अनौपचारिक रूपमा दैनिक अभ्यास र अनुभवबाट सिक्ने अलिखित सीप र ज्ञानलाई अदृश्य पाठ्यक्रम (हिडेन करिकुलम)ले समेटेको हुन्छ । जसअन्तर्गत बालबालिकाले अरूले गरेका क्रियाकलाप, बानी–व्यहोराको अनुकरण गर्दै आएका हुन्छन् । शिक्षा मनोविज्ञानअनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरूको नक्कल गर्ने, लिङ्गअनुसार काममा सरिक हुन उत्सुक रहने, खासगरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदि उनीहरूका स्वभाव हुन् । घरभित्रको सरसफाइ, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेरअनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा पट्याउने र उपयुक्त ठाउँमा जतनसँग राख्ने, फूलबारी, करेसाबारीका कामहरूमा व्यस्त बनाउने आदिबाट व्यावहारिक जीवनमा आइपर्ने काम गरी बालबालिकामा स्वावलम्बी बानीको विकास गर्न सकिन्छ । त्यस्तै, घरकम्पाउन्डभित्रै खेलिने चेस, लुँडो, क्यारेमबोर्ड, ब्याडमिन्टनलगायतका इन्डोर गेमबाट पनि बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा व्यस्त बनाउन मद्दत पुग्छ । साथै आफूसँगसँगै सामान्य योग–अभ्यासको बानीले शारीरिक, मानसिक, आध्यात्मिकसम्बन्धी प्रारम्भिक ज्ञान दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्