दर्ता नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब « Artha Path
२८ बैशाख २०७७, आईतवार

दर्ता नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब



विश्वास रेग्मी, काठमाडौँ । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ ।

त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ छ । दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको सङ्ख्या सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार देशभर दुई लाख ७८ हजार ४५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपियाँ छ ।

यसअन्तर्गत विभागले ठूला सवारी तथा मोटरसाइकल मर्मत केन्द्रसमेत समेटेको छ । यसपछि आवास तथा खाद्य सेवासम्बन्धि गतिविधि गर्ने ८२ हजार ५०१ व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । यस्ता व्यवसायले वार्षिक ६८ अर्ब ९५ करोड रुपियाँको आम्दानी गर्छन् । देशभर ५३ हजार ३२८ उत्पादनमूलक व्यवसाय पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ, जसले वर्षभर २४ अर्ब ४३ करोड रुपियाँ आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ ।

विभागले यस अध्ययनमा औद्योगिक व्यवसायको गणना गर्दा विभिन्न १७ वटा भागमा वर्गीकरण गरेको छ । तीमध्ये विद्युत्, ग्यास र कृषि व्यवसायबाहेक बाँकी अन्य सबै व्यवसायमा सानो सङ्ख्यामा भए पनि दर्ता नभई उद्योग सञ्चालन भएको पाइएको छ । दर्ता नभएका यी सबै व्यवसायमा गरी आठ लाख १३ हजार व्यक्ति संलग्न छन् ।

२९ खर्बको व्यवसाय, साढे आठ खर्ब नाफा

आर्थिक गणनाले देशमा सञ्चालित उद्योग तथा व्यवसायले वर्षभर २९ खर्ब १६ अर्ब रुपियाँको कारोबार गर्ने देखाएको छ । गणनाले समेटेको नौ लाख ९२४ उद्योग व्यवसायले उक्त रकम बराबरको आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ । यी सबै उद्योग व्यवसायमा गरेर ३१ लाख १५ हजार व्यक्ति आबद्ध छन् ।

उत्पादनमूलक उद्योगको वार्षिक कारोबार सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार उत्पादनमूलक उद्योगको वार्षिक आम्दानी मात्रै छ खर्ब ७४ अर्ब रुपियाँ छ । समग्र व्यवसायमा यसको हिस्सा २३.१ प्रतिशत छ । त्यसपछि थोक तथा खुद्रा व्यवसायको छ खर्ब एक खर्ब, वित्तीय संस्थाको दुई खर्ब ६५ अर्ब, शिक्षा क्षेत्रको दुई खर्ब ६४ अर्ब रुपियाँ छ ।

प्रतिएकाइ नाफाको आम्दानीको हिसाबले विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा अगाडि छ । यस्ता व्यवसायको प्रतिएकाइ नाफा ११ करोड ३० लाख रुपियाँ छ । २९ खर्बको कुल आम्दानीबाट उद्योग व्यवसायले आठ खर्ब ५३ अर्ब रुपियाँको आम्दानी गर्ने पाइएको छ ।

सबैभन्दा धेरै नाफा गर्नेमा थोक तथा खुद्रा व्यवसाय छ, जसको नाफा वार्षिक दुई खर्ब ५८ अर्ब रुपियाँ देखिन्छ । त्यसपछि शिक्षा क्षेत्रको एक खर्ब २२ अर्ब रुपियाँ छ । कुल आम्दानीको अनुपातमा नाफा गर्नेमा पनि शिक्षा क्षेत्र नै छ । शिक्षा क्षेत्रमा कुल आम्दानीको ४६.१ प्रतिशत नाफा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि थोक तथा खुद्रा व्यवसाय छ जसको नाफाको हिस्सा ४३ प्रतिशत छ । कुल आम्दानीमध्ये दर्ता भएका व्यवसायका आम्दानीको हिस्सा ९२ प्रतिशत अर्थात् २६ खर्ब ८२ अर्ब रुपियाँ छ । कुल नाफामा पनि दर्ता भएको हिस्सा ९१.५ प्रतिशत अर्थात् सात खर्ब ८१ अर्ब रुपियाँ छ ।

कुल आम्दानीमध्ये महिला प्रबन्धक भएका व्यवसायको हिस्सा ९.८ प्रतिशत छ । यसमध्ये पनि सबैभन्दा धेरै थोक तथा खुद्रा व्यवसायको २८.२ प्रतिशत अर्थात् ८० अर्ब रुपियाँ छ । कुल नाफामा महिला प्रबन्धक भएका व्यवसायको हिस्सा १०.९ प्रतिशत छ । क्षेत्रगत हिसाबले सबैभन्दा धेरै व्यवसाय हुने जिल्लामा काठमाडौँ रहेको छ । वर्षभर यहाँ आठ खर्ब ३२ अर्बको व्यवसाय भएको गणनाले देखाएको छ, जुन कुल व्यवसायको २८.५ प्रतिशत हो । त्यसपछि ललितपुरमा दुई खर्ब ८८ अर्ब, मोरङमा एक खर्ब ५५ अर्ब, रुपन्देहीमा एक खर्ब ३२ अर्ब र कास्कीमा एक खर्ब १७ अर्ब भएको पाइएको छ ।

कारोबारको हिसाबले सबैभन्दा कम मनाङ जिल्लामा हुने देखिएको छ । मनाङमा वर्षभर ५३ करोड ६० लाख रुपियाँको मात्र व्यवसाय भएको प्रतिवेदनमा उल्लेख छ । नाफाको हिसाबले पनि काठमाडौँ सबैभन्दा अगाडि छ । गणना वर्षमा काठमाडौँमा भएका व्यवसायबाट दुई खर्ब २२ अर्ब रुपियाँ नाफा भएको पाइएको छ । ललितपुरमा ७१ अर्ब, रुपन्देहीमा ३९ अर्ब, मोरङमा ३२ अर्ब ६० करोड, झापामा ३२ अर्ब र कास्कीमा ३० अर्ब ८० करोड रुपियाँ नाफा भएको तथ्याङ्कले देखाएको छ । सबैभन्दा कम नाफा पनि मनाङमै रहेको जहाँ कुल व्यवसायबाट १२ करोड २० लाख रुपियाँ नाफा भएको पाइएको छ ।

कुल व्यवसायमध्ये चार लाख ८५ हजार व्यवसायमा १५ देखि ३९ वर्ष उमेर समूहका व्यक्ति प्रबन्धक छन् । जसको वार्षिक कुल आम्दानी नौ खर्ब ९४ अर्ब रुपियाँ छ । चार लाख ४५ हजार ९८२ व्यवसायमा १५ देखि ३९ वर्ष उमेर समूहका व्यक्तिको स्वामित्व छ । कुल व्यवसायमध्ये चार लाख ११ हजार ८५० व्यवसाय भाडाको भवन अथवा कोठामा सञ्चालित छन् भने तीन लाख ९४ हजार व्यवसाय आफ्नै भवनमा सञ्चालनमा रहेको पाइएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्