२४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

२४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७३ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट ७३ हजार ५५५ नमुना परीक्षण भएको जानकारी गराएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

उनका अनुसार आरडिटी विधिबाट ५६ हजार ६५७ र पीसीआर विधिबाट १६ हजार ८९८ गरी कुल ७३ हजार ५५५ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।

देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।

हाल १३ हजार ६२५ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ३ र उपत्यका बाहिर १६१ जना गरी १६४ जना आईसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्

त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

जसमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ७९ जनाको विभिन्न हस्पिटलमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्