प्रधानमन्त्रीको प्रश्न: सत्यमेव जयते कि सिंहमेव जयते ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीको प्रश्न: सत्यमेव जयते कि सिंहमेव जयते ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् ।

यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको उनले बताए । तर पछिल्लो समय जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू भाग फिर्ता लिइछाड्छौं’ उनले भने ।

कूटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उनले बताए ।

तर भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनी सत्यमेव जयदेव लेखेको छ । म सोध्ने वाला सत्यमेव जयते कि सिंहमेव जयते ?’

उनले अघि भने, ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’


प्रतिक्रिया दिनुहोस्