थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो « Arthapath.com
९ जेष्ठ २०७७, शुक्रबार

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो



काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०७ पुगेको छ।

संक्रमितमध्ये नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।

नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ।

शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताए।

यसअघि शुक्रवार बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो।

उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ।

विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको उनले बताए।

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।

डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार अहिले देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

प्रदेश नं ५ मा अहिले १५,९९९ जना क्वारन्टीनमा छन्। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना छन्।

डा. देवकोटाका अनुसार कैलालीका तीन जना, डडेलधुराका एक जना, बैतडीका एक जना, बाँकेका १४ जना र मोरङका एक जनामा सङ्क्रमण देखिएको हो।

कैलालीका सङ्क्रमितहरूको क्‍वारन्टीनमा भएका व्यक्ति हुन्।

बाँकेका सङ्क्रमितमध्ये एक जना राप्ती सोनारीका र १३ जना नरैनापुरका हुन्।

बिहान पुष्टि भएका ३० जनामध्ये चार जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १५ जना सर्लाहीका हुन्।


प्रतिक्रिया दिनुहोस्