आजदेखि अधिकमास अर्थात मलमास शुरू हुँदै ,मलमासमा के गर्न हुन्छ, के हुँदैन ? « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

आजदेखि अधिकमास अर्थात मलमास शुरू हुँदै ,मलमासमा के गर्न हुन्छ, के हुँदैन ?



काठमाडौं । आजदेखि अधिकमास अर्थात मलमास सुरु हुँदैछ ।
आज अपरान्ह ४ बजेर ५९ मिनेटमा सुरु हुने अधिकमास असोज ३० गते राति १ बजेर ५३ मिनेटमा सकिनेछ । हिन्दु परम्परा अनुसार यस अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।

अधिकमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराण वाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी रहेका र अधिक मास अर्थात मलमासको स्वामी नभएका कारण अधिकमासमा सम्पूर्ण शुभ कार्य तथा देव एवं पितृ कार्य वर्जित गरिएको पौराणिक कथन छ ।
गौतमले घरमा गरिने नियमित पूजा पाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने बताए । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ। सूर्यमान अनुसार वर्षमा ३ सय ६५ दिन र चन्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ ।

यसरी हेर्दा सूर्य र चन्द्रमानबीच बर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यहि एक महिनालाई अधिकमास भन्ने गरिएको हो । अधिकमास पर्ने वर्षमा सूर्यमान अनुसार वर्षमा १२ वटै महिना रहेपनि चन्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ ।

सूर्य र चन्द्रमाको गति मिलाउनका लागि मलमास पर्ने गर्दछ। मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्