२ खर्बबाट तरलता घटेर १ खर्ब १४ अर्ब कायम, बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्दै « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

२ खर्बबाट तरलता घटेर १ खर्ब १४ अर्ब कायम, बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्दै



काठमाडौं । वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब १४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह बढेको छ । तर वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा खासै कमी आएको छैन । करिब दुई साताअघिसम्म पौने २ खर्ब हाराहारीमा रहेको अधिक तरलता बुधबारसम्म सवा खर्ब रुपैयाँमा झरेको छ । तर बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढेर अधिक तरलता घटेको होइन । सानो परिमाणमा कर्जा प्रवाह बढेको भए पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाएकाले अधिक तरलतामा कमी आएको हो ।

हाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत दुई पटक गरी ७१ अर्ब ८० करोड रुपैयाँ बजारबाट तानेको छ । एक पटक २१ अर्ब ८० करोड र अर्को पटक ५० अर्ब रुपैयाँ गरी २८ दिनका लागि उक्त रकम तानिएको हो । २८ दिनपछि सो रकम पुनः प्रणालीमा फर्किनेछ । यो उपकरण परिपक्वको अवधि सकिन अब करिब २ साता बाँकी छ । केही सातायता बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह बढाउन सकेका छैनन् । यस्तो अवस्थामा राष्ट्र बैंकले झिकेको पैसा फेरि बजारमा फर्किंदा वित्तीय प्रणालीमा पुनः अधिक तरलताको अवस्था कायम रहने जानकारहरू बताउँछन् ।

अधिक तरलता व्यवस्थापनका लागि अनेक प्रयास गरिएको राष्ट्र बैंकले दाबी गरेको छ । यसअनुसार गत असोजसम्म ९० अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । तर यो पैसा बजारमा आइसकेको छ । त्यसपछि फेरि करिब ७२ अर्ब रुपैयाँ बजारबाट झिकिएको हो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा रिपोमार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ४९ अर्ब ८० करोड गरी कुल ८९ अर्ब ३२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । सो अवधिमा निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले तथ्यांक छ । अधिक तरलताका कारण निक्षेप कर्जाको ब्याजदर घटेको छ । यसअनुसार गत असोजमा ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.६३ प्रतिशत छ । २०७६ असोजमा ९१–दिने ट्रेजरी बिलको यस्तो ब्याजदर ४.३३ प्रतिशत थियो । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असोजको ४.६२ प्रतिशतको तुलनामा ०७७ असोजमा ०.११ प्रतिशत कायम भएको छ । गत असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.७३ प्रतिशत छ । २०७६ असोजमा यस्तो दर ९.५६ प्रतिशत थियो ।

गत असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.८३ प्रतिशत छ । २०७७ असारको तुलनामा गत असोजमा कर्जाको ब्याजदरको तुलनामा निक्षेपको ब्याजदरमा बढी गिरावट आएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.२ प्रतिशत वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा गत असोजसम्म यस्तो कर्जा १४.३ प्रतिशत बढेको थियो ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.९ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २०.९ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्