एक सय ५८ गर्भवती तथा सुत्केरीको उद्धार
काठमाण्डौ । सरकारले अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको कार्यक्रमका समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले बताएका छन । अलिेसम्म हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ, दोलखा, खोटाङ लगायतका जिल्लाबाट उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत लामो समय सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या भएको, गर्भमा नै बच्चाको ज्यान गएको, गर्भवती अवस्थामा शरीर सुन्निएको, सुत्केरी भएपछि धेरै रगत बगेमा, रक्तअल्पता भएको गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीको उद्धार भएको छ ।
उक्तm कार्यक्रममार्फत सडक सञ्जालको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लामा पूर्ण र १८ जिल्लाका दुर्गम पालिकामा निःशुल्क हवाई उद्धार गर्ने उल्लेख छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि २०७५ सालदेखि यो कार्यक्रम लागू भएको भए पनि उद्धारको काम भने २०७६ साउन १ गतेदेखि सुरु भएको छ ।












