बेलायतका प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले राजीनामा घोषणा गरेका छन्। स्टार्मरले पार्टीको संसदीय दलको निर्णयलाई सम्मान गर्दै राजीनामा घोषणा गरेका छन्।
स्टार्मरले सोमबार राजीनामा घोषणा गर्दै आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए। उनले आफूले यसबारे बेलायती राजा चार्ल्स तृतीयलाई पनि जानकारी गराइसकेको उल्लेख गरे।
स्टार्मरले लेबर पार्टीको राष्ट्रिय कार्यकारिणी समितिलाई जुलाई ९ देखि नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता खुला गर्न र संसद्को ग्रीष्मकालीन अवकाशअघि नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्न आग्रह गर्ने जानकारी दिए। प्रतिस्पर्धा भए पनि सेप्टेम्बरमा संसद् पुनः सञ्चालन हुनुअघि नयाँ नेता चयन भइसक्ने उनले बताए। नयाँ नेता चयन नहुँदासम्म आफू प्रधानमन्त्रीकै जिम्मेवारीमा रहने र सत्ता हस्तान्तरणलाई व्यवस्थित तथा सहज बनाउन पूर्ण सहयोग गर्ने उनको भनाइ छ।
राजीनामा सम्बोधनका क्रममा स्टार्मरले आफ्नो नेतृत्वमा पछिल्ला दुई वर्षमा सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्। उनले बेलायती अर्थतन्त्र मजबुत बनेको, मुद्रास्फीतिभन्दा तीव्र गतिमा ज्याला वृद्धि भएको, पूर्वाधारमा लगानी बढेको तथा राष्ट्रिय स्वास्थ्य सेवामा उपचारका लागि पर्खिने सूची १७ वर्षयताकै सबैभन्दा तीव्र रूपमा घटेको दाबी गरे।
उनले श्रमिक र भाडावालाको अधिकारमा ऐतिहासिक सुधार गरिएको, शीतयुद्धयताकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गरिएको तथा अवैध आप्रवासन नियन्त्रणमा प्रगति भएको पनि उल्लेख गरे। आफ्ना नीतिका कारण पाँच लाख बालबालिका गरिबीबाट माथि उठेको उनको दाबी छ। विदेश नीतितर्फ बेलायतको अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनःस्थापित भएको, युक्रेनप्रतिको समर्थन कायम राखिएको, युरोपेली साझेदारहरूसँगको सम्बन्ध सुदृढ बनाइएको तथा कानुनी शासन र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता पुनः पुष्टि गरिएको उनले बताए।
स्टार्मरले आफ्नो उत्तराधिकारीलाई पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै आफूले जिम्मेवारी सम्हालेको दुई वर्षअघिको तुलनामा अहिलेको बेलायत अझ बलियो, न्यायपूर्ण र आगामी चुनौती सामना गर्न सक्षम बनेको दाबी गरेका छन्।












