बीमा कम्पनीहरुको लाभांशमा ढिलाई, पुनर्बीमा र निर्जीवनलाई एनएफआरएस अनिवार्य « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

बीमा कम्पनीहरुको लाभांशमा ढिलाई, पुनर्बीमा र निर्जीवनलाई एनएफआरएस अनिवार्य



काठमाडौं । बैंक तथा वित्तीय संस्थालगायत नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् । तर, बीमा कम्पनीहरूले भने हालसम्म लाभांश प्रस्ताव गरेर वार्षिक साधारणसभा बोलाउने कुनै सुरसार गरेका छैनन् ।

बीमा समितिको निर्देशन अनुसार नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण समयमै तयार पार्न नसक्दा बीमा कम्पनीहरूको लाभांश घोषणा गरी साधारणसभा बोलाउन ढिलाई भइरहेको छ ।

सबै बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको समेत वार्षिक साधारणसभा बोलाएका छैनन् । हालसम्म दुई जीवन बीमा कम्पनी र १७ निर्जीवन बीमा कम्पनीहरूले मात्रै आर्थिक वर्ष २०७५/०७६ को साधारणसभा सम्पन्न गरेको छन् । एनएफआरस प्रणालीको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गरेर ती कम्पनीहरूले साधारणसभा सम्पन्न गरेका हुन् । अन्य बाँकी सबै कम्पनीहरू एनएफआरएसअनुरुपको वित्तीय विवरण तयार पार्न नसक्दा लाभांशसमेत घोषणा गर्न सकेका छैनन् ।

यसअघि परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरूलाई बीमा समितिले आर्थिक वर्ष २०७४/०७५ देखि बीमा कम्पनीहरूलाई अनिवार्यरुपमा एनएफआरएस प्रणालीमा लागू गर्दै सोहीअनुरुप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो ।

बीमा समितिले नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्नुपर्दा सिक्न नै केही समय लाग्ने बताउँदै आएको छ । तर, एनएफआरएस प्रणाली लागू गरेको तीन आर्थिक वर्ष भइसक्दा पनि तोकिएको प्रणालीमा वितीय विवरण तयार पार्न नसकेर साधारणसभा बोलाउन ढिलाइ भएको हो ।

सरकारी स्वामित्व भएका कम्पनीको संस्थागत सुशासन नै कमजोर बन्दा लामो समयदेखि लेखापरीक्षणसमेत हुन सकेको छैन भने अन्य कम्पनीहरूमा पनि बीमा समितिको निर्देशनअनुसार लेखापरीक्षणको स्वरुप फेरिँदा नयाँ प्रणालीमा वित्तीय विवरण तयार गर्न कम्पनीहरूलाई कठीनाई उत्पन्न भएको देखिन्छ ।

सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले लामो समयदेखि लेखापरीक्षण गराउन सकेका छैनन् । पछिल्लो समय सेयर बजारमा समेत सामान्य सुधार आइरहेको छ । सेयर बजारमा सुधार आउँदा बीमा कम्पनीहरूको सेयरमूल्य पनि बढेको छ । बीमा कम्पनीहरूको लाभांश आउने आशामा लगानीकर्ताहरू बीमा कम्पनीहरूको सेयर कारोबारमा आकर्षित भएका छन् । तर, अधिकांश बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीको प्रतिवेदन तयार गर्न बाँकी रहेकाले लाभांश घोषणामा समेत समय लाग्ने प्रष्ट देखिन्छ ।

नेप्सेमा सूचीकृत ४ वटा जीवन बीमा कम्पनीहरूको मात्रै अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएर लाभांश प्रस्ताव गरेका छन् । नेशनल लाइफ १७ प्रतिशत, एलआईसी नेपाल १०.५२ प्रतिशत, प्राइम लाइफले १५ प्रतिशत र सूर्या लाइफले १० प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/०७६ बाट लाभांश प्रस्ताव गरेका हुन् । तर, यी कम्पनीहरूले अहिलेसम्म साधारणसभा बोलाएका छैनन् ।

यता निर्जीवनतर्फ अघिल्लो आर्थिक वर्ष २०७५/०७६ बाट ७ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् भने नयाँ सूचीकृत कम्पनीबाहेक बाँकीले एनएफआरएस प्रणालीका कारण थप व्यवस्था गर्नुपर्ने भएकोले लाभांश वितरण गर्न नसकिएको जनाएको छ ।

लाभांश वितरण गर्नेमा नेपाल इन्स्योरेन्स, हिमालयन जनरल, नेको इन्स्योरेन्स, आइएमई जनरल, लुम्बिनी जनरल, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् । निर्जीवन बीमा कम्पनीहरूमा अधिकांशले साधारणसभासमेत सम्पन्न गरी सकेका छन् । तर, गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेर साधारणसभा बोलाउने कुनै टुंगो छैन । बीमा समिति स्रोतकाअनुसार बल्ल बीमा कम्पनीहरू गत आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरण स्वीकृतिको लागि समितिमा पठाउन थालेका छन् ।

पुनर्बीमा र निर्जीवनलाई एनएफआरएस अनिवार्य

नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ । बीमा समितिले सोमबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो ।समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको लागि अलग अलग निर्देशिका तयार गरेको हो ।

निर्जीवनतर्फ निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ भने पुनर्बीमा तर्फ पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरूको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिका अनुसार पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरूले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्