६१ कम्पनीको लाभांश घोषणा, सबैभन्दा बढी नगद लाभांश युनिलिभरको, अन्यको कति ? « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

६१ कम्पनीको लाभांश घोषणा, सबैभन्दा बढी नगद लाभांश युनिलिभरको, अन्यको कति ?



काठमाडौं । सञ्चलनमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीलगायतले सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १५ वटा वाणिज्य बैंकसहित ६१ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म १५ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेको छन् भने ११ वटाको घोषणा बाँकी छ ।

त्यस्तै, केही अन्य वित्तीय संस्थाले पनि लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा म्यूचुअल फण्ड, जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा बीमा कम्पनीलगायत छन् । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेका छन् भने ४ वटा बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत २६ वणिज्य बैंकहरू मध्ये १५ ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । अझै ११ बैंकको लाभांश भने घोषणा हुन बाँकी छ । लाभांश घोषणा गर्ने अधिकांश बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई वितरणयोग्य नाफाको अधिकतम ३० प्रतिशत सम्ममात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ । यस्तो लाभांश असार मसान्तसम्म कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा पनि बढी हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसले पनि यसपटक बैंकहरूलाई नगद लाभांशभन्दा बोनस सेयर दिनुपर्ने दबाब दिएको हो ।

लाभांश घोषणा गर्ने १५ बैंकमध्ये ४ बैंकको आफ्नो वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । लाभांश पारित गरेका बैंकहरूले अब लगानीकर्ताको खातामा पठाउने प्रक्रिया अगाडि बढाउने छन् । २ बैंकले साधारण सभाको मिति तय गरेका छन् भने अन्य बैंकको साधारण सभाको मिति तय हुन बाँकी छ ।

मंसिर अन्तिम साता आइपुग्दासम्म पनि २६ वाणिज्य बैंकमध्ये ११ वटाले अझै लाभांश घोषणा गर्न बाँकी छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण लाभांश घोषणा र साधारण सभामा ढिलाई भएको सरोकारवाल निकायले बताएका छन् । साथै, असोज मसान्तसम्म उठेको ब्याजलाई गत वर्षकै नाफा मानेर सो रकमबाट समेत लगानीकर्तालाई लाभांश वितरण गर्न पाउनेछन् ।

यसै व्यवस्थाका कारण पनि केही बैंकहरूले अहिले लाभांश घोषणामा ढिलाई गरेका हुन् । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र लाभांश घोषणा र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यसअनुसार पुस मसान्तसम्म कम्पनीहरूले वार्षिक साधारण सभा गरिसक्नुपर्छ । तर, विगतका वर्षहरूलाई हेर्ने हो भने पनि अधिकांश सूचीकृत कम्पनीहरूले अन्तिम समयमा मात्रै लाभांश घोषणा गरी साधारणसभा बोलाउने गरेको देखिन्छ ।

अहिलेसम्म साधारणसभा सम्पन्न गर्ने कम्पनीमा एनआईसी एसिया बैंक, माछापुछ्रे बैंक, फस्ट माइक्रोफाइनान्स वित्तीय सस्था, अरूण काबेली पावर, युनिलिभर नेपाल, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक र आरएमडीसी लघुवित्तले साधारणसभा सम्पन्न गरेर तोकेको लाभांश पारित गरिसकेको छ । अरूणभ्याली जलविद्युत् कम्पनी, चिलिमे र सानिमामाई जलविद्युत् कम्पनीले यसै साता साधारणसभा बोलाएका छन् । अन्य कम्पनीको समाधान साधारणसभा हुने क्रममा रहेको छ ।

अहिलेसम्म सबैभन्दा बढी नगद लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । यूनिलिभरले लगानीकर्तालाई १०० प्रतिशत नगद लाभांश दिएको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीको धेरै लाभांश दिनेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छ । वोमीले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश बोनसमात्रै हो । वोमी पछि धेरै लाभांश दिने कम्पनीमा छिमेक लघुवित्त, समता माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, मञ्जुश्री फाइनान्स, आरएमडिसी लघुवित्त, एनआईसी एशिया बैंक, एनएमबी माइक्रोफाइनान्स, हिमालयन बैंकले क्रमशः २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेको कम्पनीमा सबैभन्दा थोरै लाभांश दिनेमा ग्लोबल आइएमई सम्मुन्त योजना–१ छ । सम्मुन्त योजना–१ ले ४ प्रतिशत नगद मात्रै लाभांश दिएको छ ।

जिवन बीमा कम्पनीहरूमा प्राइम लाइफले ७ पतिशत बोनससहित १५ र एलआईसी नेपालले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । अन्यको घोषणा नै बाँकी छ । बीमामा नेपाल लाइफ र बैकमा नविल बैंकको लाभांशलाई लगानीकर्ताले धेरै प्रतिक्षा गरेका छन् ।

अहिलेसम्म बैंकहरूले न्यूनतम ८.२८ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंक र हिमालयन बैंक छन् । दुवै बैंकले २० प्रतिशत लाभांश दिएका छन् । एनआईसी एशिया बैंकको त साधारणसभाले पारितसमेत गरिसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरणलाई जोड दिएको छ । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन भने बाँकी बोनस सेयर दिनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाले सोहीअनुसार लाभाशं घोषणा गर्नुपर्ने छ । सेयर बजार


प्रतिक्रिया दिनुहोस्