टीएमएस फेर्ने कुरा किन सेलायो ? « Arthapath.com
८ पुष २०७७, बुधबार

टीएमएस फेर्ने कुरा किन सेलायो ?



काठमाडौं । ब्रोकर कम्पनीले चलाउने गरेको टिएमएस ‘ट्रेडिङ म्यानेजमेन्ट सिस्टम’ फेर्ने कुरा सेलाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबारमा हाल समस्या नआएका कारण उक्त विषय सेलाउँदै गएको हो । तर ठूलो कारोवार भएको दिन हरेकजसो १० मिनेटदेखि आधा घन्टासम्म यस्तो समस्या आउने गरेको छ ।

यसअघि अनलाइन कारोबारमा समस्या रहँदा टीएमएसले भरपर्दो काम नगरेको भन्ने गरिएको थियो । लगानीकर्ताहरूले समेत टीएमएसमा समस्या रहेका कारण अर्डर नै हाल्न नमिल्ने गुनासो गर्ने गरेका थिए । तर, दशैंपछि भने अनलाइन कारोबारमा देखिने गरी खासै समस्या आएको छैन । समस्या नआएपछि उक्त विषयको माग गर्ने लगानीकर्ता, ब्रोकर कम्पनी र उक्त विषयको सहजीकरण गरिदिने निकाय बजार सञ्चालक नेप्से यति बेला चुपचाप देखिएका हुन् ।

तर, उक्त विषयसँग सम्बन्धित सबै सरोकारवालाहरूले आफूहरूले त्यस विषयमा निरन्तर काम गरिरहेको भने बताएका छन् । उनीहरूले निरन्तर काम गरे पनि त्यसको उपलब्धि भने अझै बजारमा देखिएको छैन । नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिको बैठक पटक–पटक बसे पनि उक्त कामको लागि चाहिने एपीआई पोलिसी अहिलेसम्म पास गरेको छैन । अझै छलफल गर्नुपर्ने भन्दै सञ्चालक समितिले उक्त पोलिसी पर धकेल्दै लगेको छ । सञ्चालक समिति नै उक्त पोलिसीमा कन्फिडेन्स देखिएको छैन ।

उक्त पोलिसी पास भए सित्तैमा नेप्सेको डाटा प्रयोग गर्दै आएकाहरूले निश्चित रकम तिर्नुपर्नेछ । नेप्सेको डाटा प्रयोग गरे बापत कसरी शुल्क निर्धारण गर्ने ? कस्तो खालको डाटा प्रयोग गर्दा कति रकम लिने ? क–कसलाइ दिनेलगायतका विषयमा उक्त पोलिसी अलमलिँदै आएको छ ।

नेप्सेको आम्दानी समेत बढ्ने उक्त पोलिसी पास हुन ढिलाइ हुनुमा पोलिसीभित्र रहेको प्राविधिक पक्षमा सञ्चालक समिति कन्फिडेन्स नदेखिएको बताइएको छ । प्राविधिक पक्षको थप अध्ययन गर्न लागिएकोले उक्त पोलिसी पास हुन समय लागेको नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । “उक्त पोलिसीमा भएको प्राविधिक पक्षको अध्ययन गरिँदैछ । के कति शुल्क निर्धारण गर्ने भन्नेलगायतका विषय छन् । उक्त अध्ययन रिपोर्ट आएपछि त्यसलाई हामी पास गर्नेछौँ,” न्यौपानेले भने ।

उता ब्रोकर कम्पनीहरूले आफूहरूले प्रयोग गर्नका लागि नयाँ टीएमएस ल्याउनेलगायतको काम गर्ने भनेर छुट्टै क्यापटेक नेपाल नामक कम्पनी नै दर्ता गराएका छन् । सबै बोकर कम्पनीहरूको लगानी रहने र केहीव्यक्तिको समेत लगानीमा यस्तो कम्पनी खोल्न लागिएको हो ।

ब्रोकरहरूले दसैँअघि नै दर्ता गराएको उक्त कम्पनीले कम्पनी दर्ता गराउनेभन्दा बढी उपलब्धि हासिल गरेको छैन । कम्पनी दर्ता हुनुपूर्व तत्कालै हुनेजस्तो गरेर जोश–जाँगरकासाथ प्रस्तुत भएका कम्पनीका अधिकारीहरू यतिबेला सुस्ताएका छन् । “कम्पनीको छुट्टै कार्यालय खोल्ने तयारी गर्दैछौँ । कर्मचारी नियुक्ति प्रक्रिया पनि चाँडै अघि बढ्छ । हामीले गर्नुपर्ने काम गरिरहेका छौँ । छिट्टै नतिजा आउने छ,” क्यापटेकका संयोजक रहेका ब्रोकर एशोसिएसनका पूर्वउपाध्यक्ष टंक गौतमले भने ।

क्याप टेकको सुस्त काम गराइप्रति ब्रोकर कम्पनीहरू नै रुष्ट हुनथालेका छन् । भनेजस्तो प्रविधि तत्कालै आउने भन्दै जुन उत्साहका साथ लगानी गरेका थिए, त्योअनुरूपको उपलब्धि नआएपछि उनीहरू निराश भएका हुन् । उनीहरूले आफूले पनि नगर्ने र अरूलाई समेत काम गर्न नदिएको आरोप लगाएका छन् । “हामीले तत्कालै काम होला भनेर कम्पनीमा लगानी पनि गर्याैं, तर कम्पनीले भने जस्तो गरी काम गर्न पनि सकेको छैन । अर्को बजार सञ्चालकले पनि यसरी गर्नुस् भनेर हामीलाई दिएको पनि छैन । द्विविधाकाबीचमा महिनौँ बित्यो, तर उपलब्धि केहि छैन,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने ।सेयरबजार


प्रतिक्रिया दिनुहोस्