बढी पैसा लिने कम्पनीलाई आकस्मिक कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले साउदी अरब जान लागेका युवासँग मनलाग्दी पैसा असुली गरेको अवस्थामा राजधानीको एउटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आकस्मिक कारबाही गरेको छ ।
विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको धुम्बाराहीस्थित मनास्लु इन्टरनेसनल सर्भिस प्रालिमा साउदी जाने युवासँग पैसा लेनदेनकै कारोबार गरेको अवस्थामा फेला पारेपछि कारबाही गरेको हो ।
त्यस्तै, विभागको अनुगमन टोलीले उक्त रोजगार कम्पनीका सञ्चालकलाई आवश्यक कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको छ ।
उक्त कम्पनीले साउदीको हेल्दी फुड्सको एलटीडीमा कफी मेकर पदमा जान लागेका युवासँग कम्पनीका १ कर्मचारीले प्रतिव्यक्ति १ लाख रुपियाँभन्दा बढी रकम मागेको र पैसा नदिए भिसा रद्द गर्नेसम्मको धम्की दिएपछि प्रभावित युवाले विभागमा उजुरी गरेका आधारमा विभागको टोलीले अनुगमन गरेको हो ।
विभागको अनुगमन टोलीले ठगीमा परेका युवाले बुझाएको रकमसहित कम्पनी सञ्चालकलाई फेला पारेको जनाएको छ । वैदेशिक रोजगारको ऐनअनुसार मलेसिया र खाडीका छ देशमा जान १० हजार रुपियाँभन्दा बढी लिन पाइँदैन तर म्यानपावर कम्पनीले भने खुलेआम विदेश जाने युवासँग लाखौँ रुपियाँ असुल गर्ने गरेका छन् ।
उक्त टोलीले अनुगमनका क्रममा भिसा लागेका युवालाई सरकारले तोकेको शुल्कमा साउदी उडाउन र साउदी पुगेपछि कुनै प्रकारको नियोजित दुःख नदिनसमेत निर्देशन दिएको छ ।