ग्लोबल आईएमई बैंकको नाफा साढे २ अर्ब, कर्जा लगानी २ खर्ब ३ अर्ब रुपैयाँ « Arthapath.com
१५ माघ २०७७, बिहीबार

ग्लोबल आईएमई बैंकको नाफा साढे २ अर्ब, कर्जा लगानी २ खर्ब ३ अर्ब रुपैयाँ



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७.३२ प्रतिशत बढी नाफा आजर्वन गरेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ र बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब १७ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ६७ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ, कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ ७७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २१ रुपैयाँ ४० पैसा छ।


प्रतिक्रिया दिनुहोस्