पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न « Arthapath.com
३० माघ २०७७, शुक्रबार

पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न



पर्यटन पुनरुत्थान कार्यदल (टीआरटीएफ नेपाल)

काठमाडौं । पर्यटन पुनरुत्थान कार्यदल (टीआरटीएफ नेपाल) द्धारा जीआईजेड र गेट फाउन्डेशनको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकोल सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी तथा तालिमको पहिलो चरणको कार्यक्रम आज सुदुरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न भयो । उक्त कार्यक्रम २ फेब्रुअरीदेखि बुटवलबाट शुरू भएको थियो ।
कार्यक्रममा स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकल र दिगो गन्तव्य प्रबर्धनका विभिन्न आयामहरुमा पश्चिम नेपालका ३ वटा प्रदेशका ५ जिल्लामा अवस्थित ११ नगरपालिकामा ५५ स्थानीय च्याम्पियनहरु बीच जिम्मेवार अभ्यासहरुबारे विस्तृत रूपमा प्रशिक्षण गरिएको छ र यिनै स्थानीय चम्पीयनहरुले आ–आफ्नो क्षेत्रमा थप २७५० पर्यटन सेवाप्रदायकहरुलाई तालिम प्रदान गर्नेछन ।

कार्यक्रम समापनलाई सम्बोधन गर्ने क्रममा टीआरटीएफ नेपाल संयोजक दीपकराज जोशीले साना तथा मझौला स्तरमा पर्यटन सेवा प्रदायकहरुलाई स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकलको पालना गर्न उत्प्रेरित गर्ने अभियानमा आफ्नो उत्तम ज्ञान र सीप बाँड्न प्रशिक्षकहरुलाई आग्रह गरे । साथै उनले स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकोल सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपाललाई स्वास्थ्य, स्वच्छता र खाद्य सुरक्षा प्रोटोकोलहरु पालनाको पक्षमा एक अनुकरणीय तथा सुरक्षित गन्तव्यको रूपमा स्थापित गर्ने विशेष पहल हो, जुन केवल हाम्रो संयुक्त पहल, साझा समझ र प्रभावकारी सहकार्य मार्फत मात्र सम्भव हुने बताउनु भयो ।

पाटा नेपाल च्याप्टरका सीईओ सुरेश सिंह बुडालले कोभिड १९ संकटले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवालाहरुलाई स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकोलको प्रभावकारी अनुपालन सुनिश्चित गर्न अपरिहार्य बनाएको र सोको सुनिश्चितताले मात्र स्रोत बजारमा यात्रुहरूको आत्मविश्वास र निष्ठा जित्न सकिने र यहीनै हाम्रो पर्यटनको द्रुत, सशक्त र जिम्मेवार पर्यटन पुनरुत्थानको आधारभूत आवस्यकता भएको बताउनुभयो। फलस्वरूप, यो तालिम कार्यक्रम पर्यटन व्यवसायमा स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकोलको प्रभावकारी अनुपालनको लागि प्रेरणा दिने दिशामा एक महत्वपुर्ण पाइला भएको उनले बताए ।

परियोजना संयोजक बिबेक पौडेलले सबै सहभागीहरू, जीआईजेड, गेट फाउण्डेशन, टीआरटीएफ नेपाल, र पाटा नेपाल लाई पर्यटन पुनरुत्थान अभियानका लागि अत्यन्त सान्दर्भिक आवश्यक तालिम कार्यक्रम संचालन गर्न आवस्यक साथ, सहयोग र सहकार्यका लागि धन्यवाद दिए ।

टीआरटीएफ नेपालले समग्र पर्यटन उद्योगको बृहत फाइदाका लागि यस स्वास्थ्य र स्वच्छता सुरक्षा प्रोटोकोल प्रशिक्षणको पहललाई देशभरका महत्वपूर्ण पर्यटन स्थलहरूमा साना, मझौला तथा उदयमान उद्दमी ⁄ब्यवसायीहरु माझ विस्तार गर्न सम्बन्धित अधिकारीहरू र सरोकारवालाहरूसँग सहकार्य गर्ने सोच बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्