आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै



काठमाण्डौ । आज श्री पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ आफ्ना कला साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक(कान छेड्न पनि शुभ मानिन्छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गौरीधारामा रहेका नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्