समृद्धि फण्ड–२ले पनि पहिलो वर्ष देखीनै नियमित प्रतिफल दिन सक्छ « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

समृद्धि फण्ड–२ले पनि पहिलो वर्ष देखीनै नियमित प्रतिफल दिन सक्छ



मेखबहादुर थापा, डेपुटी सीईओ, एनआईबीएल एस क्यापिटल लि.

  1. २ वटा ब्रोकरमार्फत मात्र कारोबार पाउने हुनाले सूचना चुहिने रिस्क छ ।
  2. कर कार्यालयको पत्रअनुसार कर तर्यो भने त ६० प्रतिशत कर जान्छ ।
  3. खुलामुखी फण्ड अब अनलाइनबाटै किनबे च गर्न सकिन्छ ।
  4. हाम्रो फण्डले ६३ प्रतिशत बढी लाभांश दिइसकेको छ ।
  5. प्रगति फण्डको हकमा हामीले प्रगति गर्न सकेनौं ।
  6. म्युचूअल फण्डबारे नबुझेर आकर्षण कम छ ।

सेयर बजार अहिले धेरै बढेको छ, फण्डहरूको आम्दानी पनि निकै बढेको होला नि ?

सेयर बजारको बृद्धिअनुसार म्युचूअल फण्डका योजनाहरूको आन्दानी पनि बढेका छन् । रिस्क, रिर्टनको ब्यालेन्सअनुसार कसैको अलि बढी बढेको होला कसैको कम बढेको छ । तर, समग्रमा म्युचूअल फण्डहरूको आम्दानी यो वर्ष निकै राम्रो बढेको छ ।

तपाईंहरूले ल्याएको प्रगती फण्ड निकै घाटामा थियो । अब त बढेको छ, नाफा बाँड्न सक्ने अवस्था भयो होला होइन ?

प्रगती फण्डको न्याभ पछिल्लो नेट एक्सेस भ्यालु हेर्ने हो भने १७ भन्दा माथि नै छ । यो वर्षचाहिँ पक्कै लाभांश बाँड्न सक्छौं । कति लाभांश बाँड्ने भन्ने कुरा छलफलमा आउँला । सेयर बजार बढेकाले पनि नाफा बाढ्न सकिने अवस्थामा पुगेका हौं । अहिले हामी चनाखो छौं । मार्केट घटे पनि अब धेरै लस नहुनेगरी अघि बढेका छौं । अहिले हामीले फण्डहरूको रिस्कलाई मिनिमाइज गर्नेगरी लागिपरेका छौं ।

सोमबारदेखि एनआईबिएल समृद्धि फण्ड–२ बजारमा आएको छ, यो कस्तो फण्ड हो ?

यो फण्डचाहिँ पहिलो एनआईबिएल समृद्धि फण्ड–१ ल्याएका थियौं । त्यसको अवधि ७ वर्षे अवधिको थियो । त्यो अवधि आगामी पुसमा पूरा हुँदैछ । अहिले ल्याउन लागेको एनआईबिएल समृद्धि फण्ड–२ पनि फष्टकै परिस्कृत नयाँ फण्ड हो । त्यसैलाई कन्टिन्यू गर्ने भनेर नै ल्याउन लागिएको हो । यसको १५ प्रतिशत फिक्स डिपोजिटमा र १० प्रतिशत डिबेञ्चरमा गरी २५ प्रतिशत फिक्स इनकममा लगानी गर्ने रणनीति बनाएका छौं । ७० प्रतिशत इक्वीटीमा लगानी गर्ने र ५ प्रतिशत क्यास मेन्टेन गर्ने रणनीतिकासाथ अगाडि बढेका छौं । समृद्धि फण्ड–१ जस्तै हो २ पनि खाली साइज भने अलि ठूलो छ । समृद्धि फण्ड–१ को साइज १ अर्बको थियो भने २ को १ अर्ब २० करोडको हो । यसमा राम्रो भयो भने १ अर्ब ५० करोडसम्म पुग्न सक्छ ।

समृद्धि फण्ड–२, सबै बिक्री हुन्छ, कस्तो छ बजारको रेस्पोन्स ?

तयारी र मार्केट रेस्पोन्स हेर्दा हामीले एकदमै राम्रो रेस्पोन्स पाएका छौं । विभिन्न संस्थाहरूको कमिटमेन्टहरू पनि छ । अहिले बजार बढिरहेको बेला र आईपीओ भन्दै ऋणपत्रहरूमा समेत धेरै आवेदन पर्न थालेको बेला हाम्रो फण्डमा आकर्षण नहुने कुरै छैन ।

तपाईंहरूले चलाएको खुलामुखी फण्डबारे लगानीकर्तालाई खासै जानकारी छैन, भनिन्छ नि ?

अहिले सम्पूर्ण पुँजीबजारको बारेमा नै अवायरनेस छैन । यसमा म्युचूअल फण्डको कम चेतना छ भने त्यसभित्र पनि खुलामुखी फण्डको त झनै कमलाई मात्रै जानकारी छ । बजारमा हामीले ल्याएको एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल डाइनामिक फण्ड गरी २ वटा खुलामुखी फण्ड ल्याएका छौं । हामीले खुलामुखी फण्ड ल्याएको पनि १ वर्ष हुन लाग्यो । गतवर्ष फण्ड ल्याएर यो बारेमा बुझाउने र आक्रामकरुपमा प्रचार प्रसार गर्ने भनेर प्लान बनाउन नपाउँदै कोरोनाले सबै ठप्प भयो । हामी अहिले विस्तारै प्रचार गर्ने योजनामा थियौं, फेरि कोरोनाको दोस्रो चरण बढिरहेको छ । मर्चेन्ट बैंकर एशोसिएसनको पार्टबाट पनि हामी खुलामाुखीको मात्रै भनेर अवारनेसमा जाँदैनौं । सबै क्यापिटल मार्केटकै र फण्डहरूको पनि अवारनेश बढाउनेगरी प्लान बनाइरहेका छौं ।

खुलामुखी फण्डको कारोवार कसरी हुन्छ, भन्ने नै थाहा नपाएका धेरै छन् । किन ?

खुलामुखी र बन्दमुखीमा केही फरक छ । बन्दमुखीमा एउटा आईपीओ हुन्छ, एउटा साइजको फण्ड हुन्छ । त्यसको किनबेचको लागी स्टक एक्सचेन्चमा सूचीकरण पनि हुन्छ । अहिले सेयर किनबेच भएझै ब्रोकर अफिसमा गएर किनबेच गर्न सकिन्छ । खुलामुखीको अलि फरक छ, यसको साइज हुँदैन । आईपीओ एउटा हुन्छ । यो स्टक एक्सचेन्जमा सूचीकृत हुँदैन । यसको बजार योजना व्यवस्थापकले नै म्यानेज गर्छ । यसको किनबेच खुद सम्पत्तिमा नेट एसेट भ्यालुमा जुनसुकै बेला पनि फण्ड म्यानेजरकोमा आएर किनबेच गर्न सकिन्छ ।

अब खुलामुखीको अनलाइनबाटै किनबेच गर्ने सकिने माध्यामको बनाइसकेका छौं । खुलामुखी योजनाको हकमा किनबेच गर्न एकदमै सजिलो हुन्छ । बन्दमुखीमा चाहिँ सेयर बेचेजस्तै हो भने । खुलामुखीमा जति परिणामको सेयर बेच्न चाहनुहुन्छ, त्यति नै बेच्न सकिन्छ । किनबेच भैरहेको छ । यसमा चाहेको समयमा किन्न र बेच्न सकिन्छ । क्लोजिङको केसमा चाहेको बेलामा चाहेको परिणाम बेच्न सकिन्छ ।

एनआईबिएल एस क्यापिटलले चलाएको फण्डहरू सबैले लाभांश दिनसक्ने अवस्थामा छन ?

अहिलेसम्म हामीले ३ वटा फण्ड चलायौं । अब यो फण्ड आउँदा ४ औं फण्ड हो । एनआईबिएल समृद्धि फण्ड–१ ले हरेक वर्ष रिटर्न दिँदैआएको छ । एनआईबिएल समृद्धि फण्ड–१ अहिलेसम्म साँढे ६३ प्रतिशत लाभांश दिएको छ । सक्दा अलि बढी नसक्दा अलि कम होला, तर हरेक वर्ष लाभांश दिएका छौं । तर, प्रगती फण्डको हकमा हामीले प्रगती गर्न सकेनौं । प्रगती फण्ड इक्वीटी फण्ड पनि हो । रिक्स र रिटर्न हाई भएको प्रगती फण्ड हो । यसले अहिलेसम्म लाभांश दिन सकेको थिएन । अहिले न्याभलाई पनि आधार मान्दा १७ भन्दा माथि छ । अर्काे सहभागितामुखी खुल्ला यो छ, त्यसले पहिलो वर्षमा नै ८.२५ प्रतिशत लाभांश बाँड्न सफल भयो । समृद्धि फण्ड–२मा पनि नियमित प्रतिफल दिन सकिने गरी प्लान गरेका छौं ।

म्युचूअल फण्डहरूले सेयर बजार बढेको बेलामा आईपीओको सेयर महंगोमा बेचेर नाफा बढाइरहेको छ, सेयर बजार घटेको बेलामाचाहिँ कसरी म्यानेज गर्ने ?

म्युचूअल फण्डहरूको किनबेच गर्दा एउटा आ–आफ्नै स्टाटेजी हुन्छ । बजार बढेको बेलामा नाफा बुक गर्ने स्टाटेजी त पक्कै भैहाल्छ । सबै फण्डहरूको सकेसम्म बढी नाफा कमाएर बढी प्रतिफल वितरण गर्ने नै हो । बजार घट्दा हामीहरूले आत्तिएर सेयर बेच्दैनौं ।

१ वर्षदेखि सेयर बजार बढिरहेको छ, लामो समय यस्तै रहला ?

अन्तर्राष्ट्रिय बजारमा पनि सेयर बजार निरन्तर बढिरहेको छ । नेपालमा आफ्नै साइकलमा सेयर बजार बढिरहेको छ । नेपालमा व्याजदर कम र बजारमा पर्याप्त तरलताको कारण सेयर बजारलाई सपोर्ट गरिरहेको छ । कोरोनाले जुनरुपमा आर्थिक क्षेत्र ध्वस्त हुनछ भन्ने अपेक्षा थियो, पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रमा खासै समस्या देखिएको छैन । बैंकहरूको ग्रोथ राम्रो छ, माइक्रोफाइनान्सहरू पनि राष्ट्र बैंकको नीतिअनुसार मर्जरतर्फ अघि बढिरहेका छन । बीमाको विजनेश पनि राम्रो छ ।

म्युचूअल फण्डहरूले एउटैमात्रै ब्रोकरबाट कारोवार गरेका कारण इन्साइडर ट्रेडिङ हुने गरेको छ भनिन्छ । फण्डले हरेक कारोवार फरक फरक ब्रोकरबाट गर्न मिल्दैन ?

यसमा हाम्रो सिस्टमको पनि दोष छ । एउटा फण्डले २ वटाभन्दा बढी डिम्याट खाता खोल्न पाउँदैन । एउटा ब्रोकर खाता एउटा ब्रोकरमा मात्रै लिंक गर्न पाइन्छ । यसको अर्थ एउटा योजनाले २ वटा ब्रोकरबाट मात्रै खरिद गर्न सक्ने अवस्था छ । यही नियमका कारण हामी अप्ठ्यारोमा छौं । खासमा ब्रोकर सेलेक्सनमा हामीलाई समस्या परिरहेको छ । फण्डहरूका लागि व्यक्तिगत लगानीकर्तालाई जस्तै नियम हुनु भएन । त्यही २ डिम्याटको नियमले हामी उही ब्रोकरसँग निर्भर हुन बाध्य छौं । हामीलाई ब्रोकर चेन्ज गर्न नीति सहज हुनुपथ्र्यो । कतिपय सूचना सही हुन्छन्, कतिपय सूचना गलत हुन्छन् । त्यसलाई इनसाइडर ट्रेडिङ भन्न मिल्ने हो कि होइन ? इन्साइडर प्रमाणित पनि हुनुपर्यो । सूचना लिएर त्योअनुसारको फाइदा लिएको पनि हुनुपर्यो । इन्साइडर ट्रेडिङको ठूलै वहस पनि भइरहेको छ । त्यसलाई अलिकति नियमन गर्न जरुरी रहेको छ ।

बैंकहरूले ब्रोकर लाइसेन्स मागिरहेका छन् । मर्चेण्ट बैंकरहरूले पनि लाइसेन्स लिन सक्छन्, किन नमागेको ?

हालको जुन विद्यमान नियमावली छ, ब्रोकर भइसकेपछि अन्य कुनै पनि धितोपत्र व्यवसाय गर्न पाउनुहुन्न भन्ने व्यवस्था छ । त्यसकारण मर्चेण्ट बैंकरहरूले नियमअनुसार नपाउने भएकाले हामीले माग गर्न पाउँदैन । धितोपत्र बोर्डसँगको छलफलमा हामीले माग गरेको भनेको हाम्रो विजनेश एकदमै सिमित थियो, अहिले धितोपत्र व्यवसाय फराकिलो बन्दै गएको छ । मार्केट पनि त्यहीअनुसार फराकिलो बन्दै गएको छ । अबचाहिँ अलिकति क्लियर्ली डिमार्केसन ग्रुपवाइज र क्लासिफाइड गर्न जरुरी भैसकेको छ ।

मर्चेण्ट बैंकरहरूले इस्यू म्यानेज, अण्डर राइटिङ, पोर्टफोलियो, फण्ड म्यानेज, डिपी पनि गरेका छन् । मर्चेण्ट बैंकरमा फण्ड म्यानेजमेन्ट र अर्काे फ्याकेल्टीको विजनेश मिक्स भएको छ । पहिला ब्रोकर र मर्चेण्ट बैंकर भन्ने कन्सेप्ट आयो । ब्रोकरले त्योभन्दा अरू व्यवसाय गर्न पाउँदैन भन्ने लेख्यो । त्यो भइसकेपछि जति पनि व्यवसाय आउँछन् सबै मर्चेण्ट बैंकरमा हाल्दै गएको देखिन्छ । बाहिरको अभ्यास हेर्ने हो भने ब्रोकर, अण्डर राइटर, पोर्टफोलियो म्यानेजमेन्ट सेक्युरिटीज कम्पनीहरूले गरेको पाइन्छ । जहाँ इन्भेष्टमेन्ट बैंकिङ्ग भनेर फण्ड म्यानेजमेन्ट, पीईभिसी, अल्टरनेटिभ इन्भेष्टमेन्ट, बुक विल्डीङ, ठूलो भ्यालुसेन, इस्यू म्यानेजमेन्ट यतातिरबाट गरेको पाइन्छ । त्यसरी छुट्याउनुपर्ने हामी जरुरी देख्छौँ । ब्रोकर विजनेश मर्चेण्ट बैंकरलाई दिनुपर्छ भनेर हामीले नियमका कारण नमागेको हो । अब यसमा पनि छलफल हुनसक्छ ।

मर्चेण्ट बैंकरहरूले थप काम गर्न खोजिरहेका छन् । दायरा पराकिलो हुनुप¥यो भनेका छन्, तपाईंले खासमा खोजेको काम के हो ?

दायरा फराकिलो हुनुपर्छ भन्ने हाम्रो कुनै समयको माग हो । अहिले हामीले दायरा पराकिलो हुनुपर्छ भन्दा पनि भएका दायराहरू जुन छन्, त्यसमा राम्रोसँग काम गर्ने वातावरण बन्नुपर्छ भन्नेमा छौँ । किनकी हामी दायरामात्रै माग्ने, मर्चेण्ट बैंकर आफैँ सक्षम हुन नसक्ने, काममात्रै धेरे चाहियो भनेर मिल्दैन । अहिले हेर्ने हो भने दायरा धेरै फराकिलो भईसकेको छ । कर्पाेरेट एड्वाइजरी थप भयो, पीईभीसीका कुरा छन् । बुक विल्डिङका कुरा छन् । दायरा निकै थप भएको छ पहिलेभन्दा । तर यो दायरालाई म्यानेज गर्नका लागि हामी पनि आफैँ सक्षम हुनुप¥यो, नयाँ–नयाँ कामहरू आएकाले काम गर्दा विविधखालका समस्याहरू आउन सक्छन् । समस्या आउँदा नियमनकारी निकायले सहजीकरणको भूमिका गर्नुप¥यो । नयाँ विजनेशलाई स्थापित गर्नका लागि सहजिकरण गर्नुप¥यो नकि दायरा । दायरा त अब बजारले डिमाण्ड गरेको अवस्थामा भोलि माग्न सकिन्छ । अहिलेलाई हामी आफै सक्षम भएर काम गर्न सक्ने भएपछि बल्ल सहज हुन्छ ।

फण्डहरूको समस्या के छ, धितोपत्र बोर्डले के गर्यो भने राम्रो हुन्थ्यो ?

म्युचूअल फण्डहरूलाई धितोपत्र बोर्डले गर्नुपर्ने धेरै लाग्दैन । धितोपत्र बोर्डले गर्न मिल्ने भनेको सहजीकरणमात्रै हो । त्यसमा एउटा करको स्पष्टता पनि होला । सुरुमा यो आउँदाखेरि डबल ट्याक्सेसन हुन्छ, यो फण्ड आफैमा कर तिर्ने निकाय होइन भन्ने अण्डरस्टान्डिङ थियो । अब कतिपय कार्यालयले म्युचूअल फण्डमा पनि कर किन नतिर्ने भनेर चिठ्ठी लेखेको हामीले पाएका छौँ ।

यदि म्युचूअल फण्ड नै ट्याक्स तिर्ने निकाय हो भने त राज्यले जबर्जस्ती परिभाषित गर्न खोजेको छ भने फेरि म्युचूअल फण्ड बन्द गर्नुपर्ने हुन्छ । किनकी म्युचूअल फण्ड आखिरमा केही होइन । म्युचूअल फण्ड एउटा भ्याकुम हो । एउटा क्रियशनमात्रै हो । एउटा सबै नाममात्रै मिलेको मात्रै हो । यसको जो रियल मालिक हो, उनीहरूले ट्याक्स तिरेकै छन् । उनीहरूले कम्पिलीट कर तिरेका छन् ।

सबैको प्रतिफल वितरण गर्दाखेरि ब्यक्तिगत हिसाबमा ५ प्रतिशत, संस्थाको हकमा १५ प्रतिशत, टिडिएस काटेर उनीहरूलाई दिन्छौँ । उनीहरूले त्यसलाई एड्भान्स ट्याक्स मानेर इनकममा हालेर बैंक वित्तीय संस्था छ भने ३० प्रतिशत नै ट्याक्स तिरेका छौँ । फण्डमा नै ट्याक्स लगाइदियो भने ६० प्रतिशत कर तिर्नुपर्छ बैंक, फाइनान्स, इन्स्योरेन्स कम्पनीले । त्यसपछि उनीहरूले फण्डमा लगानी गर्दै गर्दैनन् । यसमा धितोपत्र बोर्डले पनि पहल गरिरहेको छ । हामीले पनि हाम्रो लेभलबाट पहल गरिरहेका छौँ । यसमा स्पष्टता हुनुपर्ने जरुरी छ । हामीले म्युचूअल फण्डमा लगानी गर्दा सर्टेन रकम जीवन बीमामा गरेकोजस्तो कर छुट दिनुपर्छ । त्यो गर्दा म्युचूअल फण्डलाई प्रोत्साहन हुन्छ । वचत परिचालन भएर लगानीमा रुपान्तरण हुन्छ भनेर सुरुदेखि नै आवाज उठाइरहेका छौँ । त्यो अहिलेसम्म आएको छैन, ग¥यो भने राम्रो मौका हो ।

प्राइभेट इक्वीटी फण्डहरू ल्याउन खोजिरहेका छौ । सेवोनले पनि यसमा कोशिस गरिरहेको छ भने हामी पनि अगाडि बढिरहेका छौँ । त्यसमा कर लगायतका कुराहरू के हुने भनेर स्पष्टता छैन । त्यो पनि फण्ड नै हो । त्यो ओनरहरूले ट्याक्स तिरिहाल्छ । यसमा पनि फण्ड लेभलमा ट्याक्स लगायो भने फेरि नआउँदै मर्छ । यो प्राइभेट इक्वीटी भेन्चर कम्पनीले नै पुष्टी गरेको हुन्छ । कम्पनीले नीति तथा कार्यक्रममा राखेर, बजेटमा राखेर ल्याएको इस्यू हो । यस्ता थुप्रै विषयमा धितोपत्र बोर्डले सहज गरिदियो भने सजिलो हुन्थ्यो । यीबाहेक अन्य कुराहरू म्युचूअल फण्डका केही कुराहरू छन् । अलिकति दायरा बढाउन, इन्भेष्टको एरियाहरूको दायरा बढाउन पाएहुन्थ्यो भन्नेछ । त्योभन्दा भन्दै अहिले अनलिस्टेड कम्पनीहरूमा गैहाल्ने अवस्था पनि छैन । त्यसमा हामी अवस्थाअनुसार सुधार गर्दै जानेछौँ ।

एनआईबिएल समृद्धि फण्ड किन किन्ने र यसले कति समयमा रिटर्न दिन सक्छ ?

४–५ वटा म्याचुअर (अवधि समाप्त) भएर सकियो । हामीले कन्कुलुजन ड्र गर्न सक्छौँ । सबै फण्डहरू हामीले हे¥यौँ भने जतिवटा फण्डहरू समाप्त भयो, त्यसले राम्रो रिटर्न दिएका छौँ । यसमा कुनै वर्ष बढी र कुनै वर्ष कम भयो होला, तर एभरेजमा १८–२० प्रतिशतदेखि ४०–४५ प्रतिशतसम्म रिटर्न बाँड्न सफल भएका छाँै । यदि तपाईंसँग पैसा भएर लगानी गर्न चाहनुहुन्छ भने सिधैँ सेयर बजारमा जान सक्नुहुन्छ, होइन भने सेयरबजारमा जान रिस्क हुन्छ, ज्ञान छैन, पैसा कम छ भने बेस्ट ठाउँ भनेको म्युचूअल फण्ड नै हो । म्युचूअल फण्डमा आउनुहोस् लगानी गर्नुहोस्, म्युचूअल फण्डमा आउँदा ठूलो फाइदा हुन्छ, कस्ट पनि कम हुन्छ, रिस्क पनि कम हुन्छ, र रिटर्न पनि राम्रै आउने सम्भावना हुन्छ । यो फण्डले अर्काे आर्थिक वर्षदेखि रिटर्न दिने कोशिस गर्छाैं । यो साल इन्भेष्ट गर्नमा नै समय जान्छ । अर्काे आर्थिक वर्षदेखि नियमितरुपमा रिटर्न दिने कोशिस गर्छाै । समृद्ध म्युचूअल फण्डले वार्षिक १८–२० प्रतिशत रिटर्न दिएको थियो । त्यसैले यो फण्डमा पनि वार्षिक १६ प्रतिशतभन्दा माथि नै रिटर्न दिन्छौँ । हामी सकेसम्म समृद्ध फण्ड कै हाराहारीमा रिटर्न दिन सक्छौँ ।


प्रतिक्रिया दिनुहोस्