कर्मचारीलाई २ दिन बिदा दिने पूर्वमन्त्री भट्टराईको योजना कहाँ पुग्यो, १० दिने भ्रमण बिदा कार्यान्वन होला ? « Arthapath.com
२१ जेष्ठ २०७८, शुक्रबार

कर्मचारीलाई २ दिन बिदा दिने पूर्वमन्त्री भट्टराईको योजना कहाँ पुग्यो, १० दिने भ्रमण बिदा कार्यान्वन होला ?



काठमाडौं । कोरोना भाइरसले ठप्प भएको पर्यटन क्षेत्रलाई उकास्न र अर्थतन्त्र चलायमान बनाउनका लागी अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८–०७९ को बजेट भाष्णमा कर्मचारीलाई १० दिनको तलवसहित भ्रमण विदा दिने घोषणा गरेका छन् । यसअघि गत वर्ष पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कर्मचारीलाई सातामा २ दिन बिदा दिने बताएका थिए ।

पूर्वमन्त्री भट्टराईले सरकारी कर्मचारीसहित निजी क्षेत्रका कर्मचारीलाई समेत सातामा २ दिन बिदा दिनुपर्छ भन्ने अवधारणासहित एक अध्ययन समिति नै गठन गरेको थिए । समितिले प्रतिवेदन तयार पारेर उक्त प्रतिवेदन मन्त्रालयमै थन्किएको छ । उक्त प्रतिवेदन थन्किएका बेला अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीलाई तलब सुविधासहित १० बिदाको भ्रमण काजको सुविधा प्रदान गर्ने घोषणा गरे ।

मन्त्री पौडेलले भने, ‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइनेछ ।’ गत बर्षको प्रतिवेदन थन्किएको बेला यो योजना लागू हुनेमा शंका छ । कर्मचारीलाई १० दिनको भ्रमण बिदा लागू हुन सम्भव कति छ त्यो भने कार्यान्वयनमा आएपछि मात्रै जानकारी पाइनेछ ।

तत्कालका लागि आन्तरिक पर्यटनसँगै देशको अर्थतन्त्र चलायमान बनाउन दीर्घकालिन नीति नभएर सरकारले लिएको अल्पकालिन नीति रहेको शिशिरकुमार ढुंगाना बताउँछन् । अर्थि सचिव ढुंगाना भन्छन्, ‘बजेटले व्यवस्था गरेको १० दिन कर्मचारी छुट्टीको नीति दीर्घकालिन नीति होइन । यो त तत्कालका लागि कोभिड प्रभावित मुलुकको अर्थतन्त्रलाई भाइब्रेन्ट बनाउन मात्र ल्याएको अल्पकालिन नीति हो । यो जुनकुनै समयमा खारेज हुनसक्छ, ।’

पूर्व मन्त्री भट्टराईले हप्तामा २ दिन छुट्टी दिने विषय र अहिले बजेटले व्यवस्था गरेको १० दिने छुट्टीको निर्णय फरक विषय भएको पर्यटन सचिव यादवप्रसाद कोइरालाले बताए । दुवै नीतिको पर्यटन व्यवसायसँगै मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्य रहेपनि यि दुई नीतिमा तात्विक भिन्नता भएको उनले बताए । हप्ताको दुई दिन छुट्टीको मुद्दा त विचाराधिनको अवस्थामा रहेको उनको भनाई छ । कर्मचारी छुट्टीको प्रस्ताव मात्र आएकाले स्पष्ट नीति निर्देशिका तथा कार्ययोजना बनाएर कायान्वयन गर्ने सचिव कोइराला बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्