एशियन लाइफ र आरएमडीसी लघुवित्तको ५ लाख ६१ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला
काठमाडौं । बिहीबारदेखि २ कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरिएको छ । एशियन लाइफ इन्स्योरेन्स र आरएमडीसी लघुवित्तको गरी कूल ५ लाख ६१ हजार ३९१.४६ कित्ता संस्थापक सेयर आज (अषाढ ३ गते) लिलामी बिक्री खुला गरेको हो ।
महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । जसमा सेयरको न्यूनतम मूल्य ६२८ रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले अषाढ ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि पेश गर्नुपर्नेछ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ रहेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले अषाढ १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयर खरिद गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ ।


















