९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको ऋणपत्र आजदेखि खुला « Arthapath.com
६ असार २०७८, आईतवार

९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको ऋणपत्र आजदेखि खुला



काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रको आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ कराेड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १ हजार दरमा किन्न पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।


प्रतिक्रिया दिनुहोस्