५८ दिनपछि खुल्दै आन्तरिक हवाई उडान, अन्तरराष्ट्रिय उडान भने भोलिबाटै खोलिने « Arthapath.com
९ असार २०७८, बुधबार

५८ दिनपछि खुल्दै आन्तरिक हवाई उडान, अन्तरराष्ट्रिय उडान भने भोलिबाटै खोलिने



काठमाडौं । नेपाली आकाशमा ५८ दिनपछि हवाइ उडानहरु पुनः सुचारु हुने भएका छन् । आन्तरिक हवाई उडान अर्को साता अर्थात असार १७ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य सुरक्षाका आवस्यक मापदण्ड अपनाएर नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । मन्त्रालयले जुलाइ १ देखि उडान सुरु गर्ने गरी वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आज पत्राचार गरेर छ ।

सरकारले कोरोना भाइरस महामारी नियन्त्रणमा सघाउ पुर्याउन गएको २० बैशाखको मध्येरातदेखि आन्तरिक उडान स्थगित गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामि आइतबारबाटै उडान सुरु गर्ने तयारी गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परामर्शपछि पाँच दिन ढिला गरी उडान सुरु गर्ने निर्णय गरेको हो ।

विमानस्थल सञ्चालन, टिकेटिङजस्ता कुरालाई मिलाउन समय लाग्ने भएकाले पनि उडान भर्ने म्याद पर सारिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सरकारी कार्यालयहरु बन्द गरिएसँगै कर्मचारी पनि विमानस्थल छाडेर घर पुगेकाले उनीहरुलाई कार्यक्षेत्र फर्कन पनि समय दिइएको छ ।

अब हवाइ उडान शुरु गर्दा यसअघिको नियमित तालिकाको आधा संख्यामा मात्रै उडान भर्न पाइने भएको छ । कुनै दुई गन्तव्यमा सामान्य अवस्थामा सातामा २० उडान भर्ने गरिएको थियो भने अब १० वटामात्रै उडान भर्न पाइने छ । यस्तो व्यवस्थाको कार्यान्वयन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिएको छ ।

मन्त्रालयले अन्तरराष्ट्रिय उडान भने भोलिबाटै शुरु गर्ने निर्णय गरेको छ । यसअघि निश्चित मुलुकमा मात्रै सीमित संख्यामा अन्तरराष्ट्रिय उडान भर्न पाइने व्यवस्था थियोमन्त्रालयले भोलिदेखि १६ असारसम्मका लागि अन्तरराष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्